काठमाडौँ, १६ असार । महालेखा परीक्षक कार्यालयको ५४औँ वार्षिक प्रतिवेदनमा तीन खर्ब ९६ अर्ब २५ करोड बेरुजु देखिएको छ । महालेखाको ५४औँ प्रतिवेदनमा चार हजार ७८६ कार्यालयको लेखापरीक्षण गरिएको थियो । ५५औँ प्रतिवेदनका लागि पाँच हजार ५०० कार्यालयको लेखापरीक्षण गर्नुपर्ने जानकारी गराईएको छ । वर्षौंदेखिको बेरुजु फछ्र्योट गर्नु चुनौती बनेको कार्यालयले जनाएको छ । कार्यालयले यस वर्षदेखि सामाजिक लेखापरीक्षण र सामूहिक लेखापरीक्षणको अवधारणा पनि ल्याउने भएको छ ।
सो अवसरमा पूर्व महालेखा परीक्षक भानुप्रसाद आचार्यलाई सम्मान गरिएको थियो । यसैगरी ‘नेपालको सङ्घीय शासन प्रणालीमा महालेखा परीक्षक कार्यालयको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने क्रमशः वैभवदेव श्रेष्ठ, एस पोखरेल ‘शिव’ र लेखबहादुर थापालाई १५ हजार, १० हजार र पाँच हजार तथा प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रममा यस वर्ष कार्यालयमा उत्कृष्ट कार्यसम्पादन गर्नुहुने निर्देशक शिवराम गुरुङ, लेखा परीक्षकहरु सविना चित्रकार, कुमार चित्रकार, शिवहरि पोखरेल र मधुसूदन महत तथा सवारी चालक सूर्यबहादुर तामाङलाई पाँच हजार नगदसहित सम्मान गरिएको थियो । विसं २०१६ असार १५ गते चन्द्रबहादुर थापालाई पहिलो महालेखा परीक्षक नियुक्त गरिएको सम्झनामा यस दिन कार्यालयको वार्षिकोत्सव मनाउने गरिएको छ।
Comments