काठमाडौं । पछिल्लो समय केही समूहले बैंक तथा वित्तीय संस्थाका कर्मचारीप्रति लक्षित गर्दै सांघातिक आक्रमण गर्ने, धम्की दिनेजस्ता अराजक गतिविधि भएकोमा नेपाल बैंकर्स एसोसिएसनले भत्सर्ना गरेको छ । त्यस्ता गतिविधि गर्ने र उक्साउनेलाई कारबाहीको दायरामा ल्याउन एसोसिएसनले सरकारसँग माग गरेको छ ।
अराजक र उत्तेजित अभिव्यक्ति दिई बैंकिङ क्षेत्रमाथि आक्रमण गर्न प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानुनी दायरामा ल्याउन एसोसिएसनले माग गरेको छ । यस्ता अप्रिय घटना नरोकिएमा कर्मचारीहरुको सुरक्षाका कारण बैंकिङ सेवा नै अवरुद्ध हुन सक्ने एसोसिएसनले चेतावनी दिएको छ ।
‘गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानुन आफ्नो हातमा लिई भइरहेका अराजक घटनालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग अनुरोध गर्दछौं’ एसोसिएसनले भनेको छ ‘यस्ता गतिविधिले असहज वातावरण सृजना गर्ने, सामाजिक सहिष्णुतामा खलल पुर्याउने, आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धरासयी हुन सक्ने हुनाले सजग रहन आग्रह गर्दछौं ।’
प्रकाशित मितिः २०७९ चैत्र ०३ शुक्रबार
Comments