पर्यटन बोर्डमा कार्यकारी अधिकृत नियुक्तिमा ढिलाइ

0

काठमाडौं । नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिृकत (सीईओ) नियुक्तिमा ढिलाइ गरिएको छ । सीईओ छनोट सिफारिस उपसमितिले तीन जनाको नाम बोर्ड सञ्चालक समितिमा पठाइसकेको छ । तर उपसमितिले सिफारिस गरेका ती तीन नाममा चित्त नबुझेर २ जनाको नाम थप्ने चलखेल सुरु भएको छ । यही चलखेलकै कारण सीईओ नियुक्तिमा ढिलाइ भएको हो । स्रोतले यसलाई प्रक्रिया मिच्न खोजिएको दाबी गरेको छ ।

उपसमितिले माघ ५ गते धनञ्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम सिफारिस गरेको थियो । सञ्चालक समितिको बैठकले यी तीनमध्ये एकलाई नियुक्त गर्न बोलाइएको बैठक दुईपटक सरिसकेको छ । पछिल्लोपटक अनिश्चितकालका लागि समितिको बैठक सारिएको छ । सिफारिस गरिएका तीन जनाको नाममा प्रधानमन्त्री, मन्त्रीसहित सचिवसमेतले असहमति जनाएको स्रोतको दाबी छ ।

उपसमिति सदस्य कृष्णबहादुर महराले फेसबुकमार्फत सीईओ नियुक्तिमा चलखेल भएको भन्दै आपत्ति जनाएका छन् । उनका अनुसार कार्यविधि र प्रक्रिया मिचेर सीईओ नियुक्ति गर्न खोजिएको छ । उपसमितिले प्रक्रिया पूरा गरेरै तीन जनाको नाम सिफारिस गरिएको उनले बताए । सिफारिस गरिएका तीन जनाबाहेकलाई सीईओ बनाइए त्यो प्रक्रियाविपरीत हुने बताइएको छ ।

सीईओका लागि १७ जनाले दिएको उम्मेवारीबाट ९ जना छनोट गरी उपसमितिले तीन जनाको नाम समितिलाई सिफारिस गरेको थियो । ९ जनाको प्रस्तुति र कार्ययोजना हेरेर विज्ञसहितको टोलीले अन्तिम ३ जनाको नाम समितिमा सिफारिस गरेको हो ।

प्रकाशित मितिः २०७६ माघ ०७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments