भैरवनाथ मन्दिर जिर्णाेद्धार सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

0

भक्तपुर, २८ फागुन । भक्तपुर नगरपालिकाले टौमढीस्थित ऐतिहासिक भैरवनाथ मन्दिरको जीर्णोद्धारका लागि आज नगरपालिका सभाकक्षमा पुरातत्वविद्, सम्पदाविद्, इतिहास तथा संस्कृतिविद् र प्राविधिकहरुबीच छलफल भयो । २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षति पुगेको उक्त मन्दिर नगरपालिकाले जीर्णोद्धारका लागि तयारी गरिरहेको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं १ का माननीय सांसद प्रेम सुवालले नगरपालिकाले २०५२ सालमा सोही मन्दिर जीर्णाेद्धार गरेको चर्चा गर्दै समयमै जीर्णोद्धार गरेकोले भूकम्पबाट ठूलो क्षति नपुगेको बताए । उनले विज्ञहरुको अध्ययनले बताएअनुसार पुनःनिर्माण वा जीर्णोद्धार कार्यलाई अगाडि बढाउनुपर्ने र यसका लागि सम्पदा संरक्षणमा निरन्तर योगदान पु¥याएका दक्ष र अनुभवी कालीगढहरुको अनुभवको सदुपयोग गर्नुपर्ने सुझाव व्यक्त गरे ।
भक्तपुरको स्थानीय प्रविधि र निर्माण सामग्रीको प्रयोग उत्कृष्ट रहेको उल्लेख गर्दै सांसद सुवालले आधुनिक विज्ञानलाई स्थानीय प्रविधिसंग जोडेर नगरको मौलिक संरचनाहरु पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उनले भक्तपुरले देशकै सम्पदा संरक्षणमा अगुवाइ गरिरहेको बताए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जीर्णाेद्धार कार्यको लागि उपभोक्ता समिति गठन भैसकेको जानकारी गराउ“दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे । प्रमुख प्रजापतिले कार्यक्रममा उपस्थित विज्ञहरुको राय सुझाव अनुसार नै भैरवनाथ मन्दिरको जिर्णाेद्धार गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जीर्णाेद्धार कार्यमा विज्ञहरुको सल्लाह अनुसार स्थानीय सीप, प्रविधि र साधन प्रयोग गर्ने, जानकारी गराउ“दै प्रमुख प्रजापतिले भविष्यमा पनि प्रवुद्ध व्यक्तित्वहरुको निरन्तर सहयोग पाउने विश्वास व्यक्त गरे ।
पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीले विगतमा भक्तपुर नगरपालिका र पुरातत्व विभागबीच संरक्षण कार्यको लागि भएका सहकार्यहरुको स्मरण गर्दै जीर्णाेद्धार कार्य शुरु गर्नुअघि सो मन्दिरको संरचनागत विश्लेषण गर्नुपर्ने सुझाव दिए ।
संरक्षणविद् प्रा. सुदर्शनराज तिवारीले मन्दिरको हालकै संरचना बलियो रहेकोले पुनः निर्माणको सट्टा जीर्णाेद्धार मात्र गरे पुग्ने विचार व्यक्त गरे । भैरवनाथ मन्दिर जस्ता आयातकार मन्दिरको विशेषतालाई संरक्षण गर्दै परम्परागत वास्तु अनुकुल हुने गरी संरक्षण कार्य अगाडि बढाउनु पर्ने उनको सुझाव थियो ।
प्रा. डा. मोहनमूर्ति पन्तले जीर्णाेद्धारको लागि गरेका अध्ययन अनुसन्धानबाट प्राप्त तथ्य तथ्यांकहरुलाई अभिलेखीकरण गर्नुपर्ने, सम्पदालाई स्थानीय संस्कृति र जीवन शैलीसंग जोडेर हेर्नुपर्ने तथा परम्परागत शैलीको निर्माण कार्यमा संलग्न अनुभवी र दक्ष डकर्मी, सिकर्मी, र लोहकर्मीहरुको पनि विचार संकलन गर्नुपर्ने सुझाव दिए ।
संरक्षणविद सूर्यभक्त सांगाछेंले २०५२ सालमा सोही भैरव मन्दिर निर्माण गर्दाको अनुभवबाट सिक्दै हालको संरचनामा रहेका कमी कमजोरीलाई सम्वोधन गर्दै संरचना तयार पारी जीर्णाेद्धार गर्दा उपयुक्त हुने धारणा राखे । नेवारी परम्परा अनुसार सबै सम्पदाहरुलाई नियमित र आवधिक रुपमा मर्मत संभार गर्न सके प्राकृतिक विपत्तिबाट कम क्षति पुग्ने विचार राख्दै प्रत्येक वर्ष सम्पदाहरुको भौतिक अवस्थाहरुको अवलोकन प्रतिवेदन तयार पार्नु पर्ने सुझाव उनले दिए ।


छलफल कार्यक्रममा भाग लिदैं प्रा. डा. प्रेमनाथ मास्केले सम्पदालाई प्राकृतिक विपत्तिले मात्र नभई मानवीय कमी कमजोरी र लापरवाहीले समेत सम्पदामा क्षति पुग्ने भएकोले समय समयमा प्राविधिक निरीक्षण गरी मर्मत संभार गर्न सके क्षति न्युनीकरण गर्न सकिने बताए । परम्परागत सीप भएका दक्ष जनशक्तिलाई सदुपयोग गर्नु पर्ने, संरक्षणको लागि टिम बनाउनु पर्ने, प्राविधिक रुपमा बढी उचाईको पेटीले जमीनको कम्पनलाई न्युनीकरण गर्ने भएकोले भैरवनाथ मन्दिरको तुलनामा पांचतले मन्दिर भूकम्प प्रतिरोधात्मक रहेको जिकिर गर्दै भैरवनाथ मन्दिर जीर्णाेद्धार गर्दा भविष्यमा हुन सक्ने प्राकृतिक विपत्तिलाई समेत मध्यनजर गरेर पुनः निर्माण गर्नु पर्ने उनको कथन थियो ।
इतिहासविद डा. पुरुषोत्तमलोचन श्रेष्ठले इतिहासमा यो मन्दिर एक तल्ला मात्र भएको र मध्यकालमा दुई तल्ला थपेर तीन तल्ले बनाइएकोले विभिन्न काल खण्डमा गएको भूकम्पले यस मन्दिरलाई क्षति पु¥याएको चर्चा गर्दै १४०० वर्ष अगाडी नै यो मन्दिर निर्माण भैसकेको ऐतिहासिक प्रमाणहरु भेटिएको जानकारी गराए । भैरवनाथको मन्दिर विस्केट जात्रासंग जोडिएको र विस्केट जात्रामा उभ्याउने लिंगोमा झुण्ड्याउने हलिंपत विश्वध्वजाले विश्वनाथ भैरव र भद्रकालीको प्रतिनिधित्व गर्ने उनको विचार थियो ।
डा. श्रेष्ठले भैरवनाथ मन्दिर संग संगै बेताल मन्दिर पनि पुनः निर्माण गर्नुपर्ने र तिलमाधव नारायण चोकमा अवस्थित भूगोल मन्दिर (भोखाय् द्यो)को पनि संरक्षण गर्नु पर्ने सुझाव दिए ।
डा. मन्जिप शाक्यले नेपालमा निर्माण सामग्रीहरुको गुणस्तर परीक्षणको लागि आधुनिक प्रयोगशाला र साधनको अभाव रहेको जानकारी गराउंदै भूकम्प प्रतिरोधी संरचना तयार पार्न संरचनागत विश्लेषण गरी पुनः निर्मान गर्नुपर्ने विचार व्यक्त गरे ।
विस्तृत क्षति विवरण तयार भएपछि मात्र हालको संरचनाले काम गर्न सक्ने वा नसक्ने बुझिने हुंदा त्यसपछि मात्र जीर्णाेद्धार वा पुनः निर्माण गर्ने भन्ने छुट्याउन सजिलो हुने उनको धारणा थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशी, वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्व, गुठी संस्थानका केन्द्रीय निर्देशक मिनराज चौधरी, दरवार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका प्रमुख मोहनसिंह लामा, राष्ट्रिय कला संग्राहलय भक्तपुरका कार्यालय प्रमुख सरस्वती सिंह र स्थानीय समाजसेवी अनन्त धौभडेलले पनि बोलेका थिए ।

Comments

comments

Share.

Comments