एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक, नेपाल र ओमान एकै समूहमा

0

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले अर्को महिना नेपालमा हुने प्रिमियर कपको समूह र खेल तालिका सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ‘ए’ मा परेको छ, जसमा ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् । साथै समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्नेछ । साथै नेपालले दोस्रो खेलमा वैशाख ८ गते ओमानसँग टियुमा खेल्नेछ । त्यसपछि नेपालले वैशाख ११ मा साउदी अरेवियासँग मुलपानीमा, वैशाख १४ मा कतारसँग टियुमा खेल्नेछ ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ। फाइनल वैशाख १८ गते (मे१) मा टियुमा हुनेछ । फाइनलको विजेता टोली आगामी सेप्टेम्बरमा आयोजना हुने एसीया कपका लागि छनोट हुनेछ, जहाँ भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । साथै विजेतासहित शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनेछन् ।

हालै सम्पन्न आइसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाली क्रिकेट टोली १२ खेलमध्ये ११ खेलमा जित निकाली एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउँदै विश्वकप छनोटमा सिधै स्थान बनाएको छ । उच्च मनोबलका साथ अघि बढिरहेको नेपाल यस प्रतियोगितामा पनि घरेलु मैदान र समर्थककाे फाइदा उठाउँदै च्याम्पियन बन्दै सोझै एसिया कपमा प्रवेश गर्न चाहन्छ ।

प्रकाशित मितिः २०७९ चैत्र ९ बिहिबार

Comments

comments

Share.
Loading...

Comments