शिक्षालाई बिकेन्द्रीकरण गर्न १ अर्बका नयाँ कार्यक्रम

0

काठमाडौं २० मंसिर । देशको प्रादेशिक संरचनाअनुसार आधाभन्दा बढी शैक्षिक कार्यक्रम स्थानीय तहमा गएपछि त्यसको पूर्वाधार तयार गर्न सरकारले तत्कालमा लागि १ अर्ब रुपैयाँको नयाँ कार्यक्रम तय गरेको छ । सरकारले देशको प्रादेशिक र स्थानीय संरचना अनुसार शिक्षालाई बिकेन्द्रीकरण गर्ने नीतिअनुसार चालू आर्थिक वर्षमा २१ वटा नयाँ कार्यक्रमका लागि १ अर्बभन्दा बढीको कार्यक्रम स्थानीय तहमा पुग्नेगरी तय गरेको हो ।

शिक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा शिक्षाका नियमित बाहेकका ग्रामीण क्षेत्रका जनतासँग प्रत्यक्ष सरोकार राख्ने २१ वटा नयाँ कार्यक्रमको कार्यान्वयनका लागि सो बजेट र कार्यक्रम तयार गरेको हो । सरकारले चालू आर्थिक वर्षबाट कार्यन्वयन हुनेगरी नयाँ कार्यक्रम सार्वजनिक गरेको हो । यसबाहेक सरकारले २ दर्जनभन्दा बढी कार्यक्रम बर्सेनि राख्दै आएको छ ।

केन्द्रीकृत शिक्षा प्रणालीलाई देशको प्रादेशिक र स्थानीय संरचनाअनुसार ग्रामीण क्षेत्रमा पहुँच विस्तार गर्ने लक्ष्यसहित नयाँ कार्यक्रम थप गर्न प्रारम्भिक चरणमा १ अर्ब रुपैयाँको कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । देश संघीय संरचनामा गएपछि शिक्षा क्षेत्रका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सञ्चालन गर्न कार्यक्रम नै किटान गरेर बजेट निर्धारण गरिएको शिक्षा मन्त्रालयको योजना, कार्यक्रम तथा बजेट शाखाका पूर्वप्रमुख नारायणप्रसाद श्रेष्ठले बताए ।

“मन्त्रालयले चालू आर्थिक वर्षका लागि राखेका नयाँ कार्यक्रममध्ये सामुदायिक माध्यमिक विद्यालय प्रोत्सहान अनुदान, प्रत्येक स्थानीय तहमा एक(एक सामुदायिक सिकाई केन्द्र  र प्रत्येक स्थानीय तहमा एक पुस्तकालयका लागि सबैभन्दा बढी बजेट विनियोजन गरेको छ,” श्रेष्ठले भने, “एक हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक माध्यमिक विद्यालयको प्रोत्साहन अनुदानका लागि मात्र ४५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।”

यो कार्यक्रमका लागि नयाँ २१ वटा कार्यक्रममध्ये सबैभन्दा बढी हो । यसरी नै प्रत्येक स्थानीय तहमा सूचना सञ्चार प्रविधियुक्त एक सामुदायिक सिकाइ केन्द्र निर्माणका लागि १४ करोड ८८ लाख रुपैयाँ छुट्याइएको छ । सार्वजनिक तथा सामुदायिक पुस्तकालयलाई हरेक स्थानीय तहमा चरणबद्ध रूपमा एकएकवटा पुग्ने गरी स्वीकृत कार्यविधिका आधारमा अनुदान दिनका लागि ११ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । यसरी सरकारले नयाँ कार्यक्रमका लागि छुट्याएको अधिकांश बजेट छात्रवृत्ति, विद्यालय अनुदान, स्थानीय स्तरमा शैक्षिक पूर्वाधार निर्माण र प्राविधिक शिक्षा विस्तारमा केन्द्रित रहेका छन् ।

Comments

comments

Share.

Comments