चिनियाँ राष्ट्रपति सीले अर्को हप्ता रुसको राजकीय भ्रमण गर्ने

0

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यसबारे जानकारी दिएका हुन् । रुसका अनुसार सी र पुटिनबीच रणनीतिक साझेदारीको विषयमा छलफल हुनेछ । भेटका क्रममा अन्तर्राष्ट्रिय क्षेत्रमा रुसी र चिनियाँ सहयोगलाई गहिरो बनाउने सन्दर्भमा र अन्य धेरै महत्त्वपूर्ण द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर हुने कार्यक्रम रहेको रुसको भनाइ छ ।

गत वर्षको फेब्रुअरीमा मात्र चिनियाँ राष्ट्रपति सीले रुस र चीनको मित्रताको कुनै सीमा नभएको बताएका थिए । चीनले युक्रेनमा रुसी आक्रमणको पनि निन्दा गरेको छैन । सी तेस्रो कार्यकालको राष्ट्रपतिमा सर्वसम्मतिले निर्वाचित भएसँगै रुस भ्रमणमा जान लागेका हुन् । उनले रुस-युक्रेन युद्ध रोक्न पहलकदमी चाल्न सक्ने पनि अनुमान छ ।

उनले यसै हप्ताको सोमबार विश्वव्यापी शासन प्रणाली सुधार र विकासमा अब चीनले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै आफ्नो देशले विश्वव्यापी विकास तथा सुरक्षा योजनामा पनि सक्रिय भूमिका खेल्ने बताएका थिए ।

मध्यपूर्वमा अमेरिकासँग राम्रो सम्बन्ध भएको साउदी अरब र जटिल सम्बन्ध भएको इरानको कूटनीतिक सम्बन्ध पुनर्स्थापना भएको केही दिनमै सीले विश्वव्यापी शासन प्रणाली, विकास तथा सुरक्षाका विषयमा चीनले राम्रो काम गर्न सक्ने बताएका थिए ।चीनकै मध्यस्थतामा साउदी र इरानको सम्बन्ध यतिबेला सुमधुर बनेको हो । सीएनएन

प्रकाशित मितिः २०७९ चैत्र ०३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments