काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी छन् ।
गौतम बुद्धको २५६३ औं जन्मजयन्तीका अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा शुभकामना व्यक्त गर्दै उनले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको उल्लेख गरेकी छन् ।
राष्ट्रपति भण्डारीले पवित्र भूमि लुम्बिनीमा जन्मेका राष्ट्रगौरव बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको आजको दिनमा हामी सबैमा एकापसमा सहिष्णुता, सदभाव, अहिंसा एवम् विश्व शान्तिको अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।
यसैबीच राष्ट्रपति भण्डारीले उभौली पर्वले नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव थप सुदृढ पार्न अभिप्रेरित गर्दै समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गरेकी छन् ।
उनले मौलिक र विशिष्ट रूपमा मनाइने उभौली पर्वले नेपालीबीच आपसी सदभाव कायम गर्दै सामाजिक एकताको वातावरण अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा पनि व्यक्त गरेकी छन् ।
प्रकाशित मितिः २०७६ जेठ ४ शनिबार
Comments