मोदीले भने-चीनको बढ्दो प्रभावले नेपाल र भारतका जनताकाे सम्बन्धमा कुनै प्रभाव पर्दैन

0

भक्तपुर २७ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको बढ्दो प्रभावले नेपाल र भारतका जनताबीचको सम्बन्धमा कुनै प्रभाव नपर्ने दाबी गरेका छन् ।

चौथो विमस्टेक सम्मेलनका लागि दुई सातापछि नेपाल जान लागेका मोदीले भारतीय अंग्रेजी दैनिक द टाइम्स् अफ इण्डियालाई दिएको अनलाइन अन्तर्वार्तामा नेपाल भारतबीचको हजारौं वर्षदेखिको ऐतिहासिक, घनिष्ट, मित्रवत् र पारिवारिक सम्बन्धमा प्रभाव नपर्ने बताएका हुन ।

नेपाललगायत भारतका छिमेकी मुलुकमा चीनको बढ्दो उपस्थितिका बारेमा धारणा राख्दै अन्तर्वार्तामा उनले भनेका छन्, ‘नेपालसँगको सम्बन्ध भगवान राम, माता सीता र बुद्धको जमानाको हो ।’ पछिल्लो समय सुरक्षा, व्यापार, लगानी र विकासलगायत क्षेत्रमा गरिएको बलियो साझेदारीले त्यो सम्बन्धलाई थप सुदृढ बनाएको मोदीले दाबी गरेका छन् । ‘त्यसैले त आज दुई देशबीचको सम्बन्ध थप फराकिलो र गहिरो हुनुका साथै विश्वासिलो र परिपक्व पनि छ,’ प्रम मोदीको टिप्पणी छ ।

पछिल्लो समय नेपाललगायतका अन्य छिमेकी मुलुकको चीनसँग विकसित सम्बन्धप्रति संकेत गर्दै मोदीले ‘चीन र अन्य मुलुकले हाम्रा छिमेकीलगायतका मुलुकसँग आफ्नो सम्बन्ध विकास गर्नु सामान्य रहेको’ बताएका छन् ।

विमस्टेक सम्मेलनमा सहभागी भएसँगै पाँचवर्षे कार्यकालमा उनको चौथो नेपाल भ्रमण हुनेछ । मोदीभन्दा पहिले यसअघिका कुनै पनि भारतीय प्रधानमन्त्रीले यतिधेरै पटक नेपालको भ्रमण गरेका थिएनन् । सन् २०१४ मा प्रधानमन्त्री भएलगत्तै उनले नेपालको पहिलो औपचारिक भ्रमण गरेका थिए ।

Comments

comments

Share.
Loading...

Comments