म कुन जेनरेसनको? रेडियो, टिभी, एफएम कि युट्युब?

0

। किरणकृष्ण श्रेष्ठ ।

हिजोअस्तिको काठमाडौं

हरेक मानिस आफ्नो उमेर, देश, काल र परिस्थितिसँगै संसारको विकासक्रमसँग पनि हुर्किरहेको हुन्छ। हामीलाई हुर्कंदै गर्दा यसको हेक्का हुँदैन। कालान्तरमा जब फर्केर हेर्छौं, हामीलाई आफूले बिताएको समयक्रम महशुस हुन्छ। यात्रामा जस्तै, जहाँ कस्ता घुम्ती र भीर काटेर आयौं भन्ने फर्केर हेरेपछि मात्र थाहा हुन्छ।

हामी विक्रम सम्बत् बीसको दशकमा जन्मेकाहरू वैज्ञानिक प्रयोगका साक्षी बन्यौं। यसको रफ्तारसँगै दौडियौं। हामीले तय गरेका अनेक समानान्तर यात्रामध्ये आज म सञ्चार क्षेत्र, खासगरी रेडियो, टिभी र त्यससँग प्रत्यक्ष सम्बन्ध राख्ने हाम्रो जमानाका केही सांगीतिक कोसेलीहरू सम्झने प्रयास गर्दैछु।

हामी सानो हुँदा रेडियोको युग थियो। रेडियो नेपालको एकछत्र राज। पत्रिकामा गोरखापत्र। हामी टिनएज लागेसँगै काठमाडौँमा टेलिभिजनको आगमन भयो। जवानीसँगै रेडियोमा झंकार थपियो। नेपालको रेडियो एफएम युगमा प्रवेश गर्यो। त्यसपछि सुरू भयो, इन्टरनेटको युग। डायलअप मोडियम र किलोबाइटको हिसाबमा चल्ने मन्द गतिको इन्टरनेट।

यी माथि उल्लिखित हरफहरू दस–बीस वर्षमै दन्तेकथाझैं भए। सञ्चार क्षेत्र यति द्रुत गतिमा अघि बढ्यो, सायदै कसैले यसको अन्दाज गरेका थिए। तपाईंहरू यो लेख अहिले जेमा जसरी पढ्दै हुनुहुन्छ, सञ्चारको प्रगतिको एउटा उदाहरण यही हो।

देशभर एकछत्र राज गरेको रेडियो नेपाल अहिले सयौं एफएमहरूको छायामा ओझेल परेको छ। रेडियोमा मात्र बज्ने गीतहरू प्रविधिसँगै घर-घरमा बजाउन सम्भव हुन थाल्यो। गीत सुन्ने क्यासेट चक्का र बजाउने क्यासेट प्लेयर हाम्रै अगाडि आयो, गयो। त्योभन्दा पहिले एलपी रेकर्ड डिस्क हुन्थे, ग्रामोफोन प्लेयरमा घुमाएर बजाउँथे। हाम्रो पाला आउँदासम्म त्यो प्रचलनबाट बाहिरिसकेको थियो। म्याग्नेटिक टेपमा स्पुलको चलन थियो, त्यो पनि हाम्रो पालासम्म घरायसी प्रयोगमा खासै नदेखिने भैसकेको थियो। स्पुल भने पछिसम्म व्यावसायिक काममा रेडियो र स्टुडियोहरूमा देखिन्थे। अचेल त्यो पनि देखिन्न।

रेडियो नेपालमा रेकर्ड हुने गीतहरू त्यहीँ मात्र बज्थे। त्यहाँ बजेपछि गीतको भाग्य निर्धारण हुन्थ्यो। हुन त सरकारी निकायअन्तर्गतकै रत्न रेकर्डिङ पनि थियो, तर त्यसको उपभोग मैले गर्न पाइनँ।

त्यस बेलाका प्राय: गीत रेडियो नेपालकै स्टुडियोमा रेकर्ड हुन्थे। रेडियोमा पहुँच नभएका र रेडियोका हाकिमको रोजाइमा नपर्ने कलाकारहरू गाउने सोखबाट सदाका लागि वञ्चितझैं हुन्थे। आधुनिक र लोकगीतको एकछत्र चलेको त्यो समय पश्चिमा प्रभावका गीत सिर्जना नभएका होइनन्। हङकङको लाहुरे समाजमा सुरू भएको हिमालय ब्यान्डका गीतहरू गाजलुले आँखै छोप्ने, मुसुमुसु हाँसी देऊ न लै लै, कहाँ तिम्रो मायालुलाई … खुबै चर्चित थिए।

नेपालमै प्रकाश गुरुङको संगीत र ओमविक्रम विष्टको स्वरमा सुनचाँदी भन्दा, जोबन त्यसै बितिजाला, म सम्झन्थेँ, मेरो रहर बिउँझिएर … आदिले पनि आफ्नो समयमा तहल्का पिटे। त्यसैताका सुक्मित गुरुङले केही गीत ओमविक्रम विष्टसँग र पछि दिपक थापाको संगीतमा ओ मेरो प्रियतम गाएर आफ्नो पहिचान जमाएकी थिइन्।

असीको दशकमा काठमाडौंमा सांगीतिक ब्यान्ड खुल्ने चलनले तीव्रता लियो। प्राय: सबै अंग्रेजी गीत सुन्थे र बजाउँथे। त्योभन्दा पहिले दार्जिलिङ, कलकत्ताबाट यहाँ पाँचतारे होटलमा बजाउन आउने ‘प्रिज्म’ जस्ता ब्यान्ड नभएका होइनन्।

काठमाडौंकै केटाहरूले खोलेका केही ब्यान्डले पनि नेपाली संगीतमा दुरगामी प्रभाव पार्यो। तीमध्ये एलिगेंस, ब्लैंड फेथ, काठमान्डू क्याट्स, ब्रदरहुड, साउन्डमिल, क्रिसक्रस, र्याथचाइल्ड प्रमुख हुन्। यी ब्यान्डहरू अंग्रेजी गीत राम्रो बजाउँथे। तर, यिनका सदस्य नेपाली गीतलाई खिसिट्यूरी गर्थे। यिनीहरू प्राय: डिप पर्पल, डायर स्ट्रेट्स, लेड जाप्लिन, पिंक फ्ल्योइडका रक गीत गाउन रुचाउँथे। यी ब्यान्डमा भएका अधिकांश संगीतकर्मी संगीतबाट टाढा छन्। एलिगेंसका मुक्ति शाक्य, ब्लैंड फेथका ज्योति घिमिरे, साउन्डमिलका ध्रुव लामा लगायत केही भने अहिले पनि नेपाली संगीत क्षेत्रमा क्रियाशील छन्।

नब्बे दशकको प्रारम्भसँगै अंग्रेजी शैलीमा नेपाली गीत गाउने क्रमले तीव्रता पायो। युवा जमातमा नेपाली भाषाको पप गीतको टक बस्न थाल्यो। भीम तुलाधर, हरिश माथेमाहरू यो क्रममा अगाडि थिए। विस्तारै अंग्रेजी गीत गाउने सुनिल उप्रेतीहरू पनि नेपाली गीतमा झुम्न थाले। त्यसताका भीम तुलाधरको अंगालो अंगालोमा, हरिश माथेमाको स्वप्निल रंगमा, सुनिल उप्रेतीको सागरझैं गहिरो  सलल बग्ने खोला चर्चित थियो।

त्यसैताका सञ्जय श्रेष्ठको ‘क्रसरोड’ भन्ने ब्यान्ड आयो, जसको गीत माया मेरी माया ले लोकप्रियताको शिखर चुम्यो। त्यसपछि नेपाली गीतको एल्बम निस्कने लर्को चल्यो। सञ्जीव प्रधानको नशाभित्र नशा र बबिन प्रधानको झरी परेको दिन सबै सुपरहिट भए।

यी सबै गायक चल्नुमा पहिलेजस्तो रेडियो नेपालको एकलौटी हात थिएन। बजारमा क्यासेट बिक्ने जमाना थियो। बजारले नै चलाए र त्यसमा सहयोगी हुन पुग्यो नेपाल टेलिभिजन। त्यसमा पनि नेपाल टेलिभिजनको सांगीतिक कार्यक्रम सञ्चालक रोशन प्रतापको भूमिका थियो भन्दा फरक नहोला। टेलिभिजनमा म्युजिक भिडिओ बनाउने एक मात्र गतिला निर्माता रोशन प्रताप नै थिए।

त्यही समयको कुरा हो, कहाँ तिम्रो मायालुलाई भन्ने गीत गाउँदै टिभीको पर्दामा एउटा समूह देखा पर्यो। आफूलाई ‘प्रतिविम्ब’ भन्ने त्यस समूहले गाएको रित्तो सडकमा भन्ने गीत पनि पृथक सुनिन्थ्यो। त्यही समूहका राजु सिंह अहिले पनि सांगीतिक क्षेत्रमा सक्रिय छन्।

‘लिटलन्स’ भन्ने ब्यान्डको काली काली हिस्सी परेकी, धिरज राईको लुकी लुकी पनि राम्रै रुचाइए।

युवा जमातमा पपगीतको लोकप्रियता स्थापित भइरहेको थियो, तर ती गीतमा नेपाली मौलिकपनको स्वाद कम हुन्थे। त्यसैताका अर्को एउटा ब्यान्ड झुल्कियो, जसले नेपालीपन र नेपाली लोकस्वाद दुवैलाई नेपाली पपमा मिसाएर पस्क्यो। त्यो ब्यान्ड थियो, ‘नेपथ्य’, जसको आँगनैभरि, बर्सातको मौसम, छेक्यो छेक्यो, हिमाल चुचुरे, जोमसोमे बजारमा … लगायत गीत खुब हिट भए। नेपथ्यको सुरुआती पहिचान क्यासेट बिक्रीबाट भए पनि यसको व्यापकताको जस नेपाल टेलिभिजनलाई नै जान्छ।

माथि उल्लिखित ब्यान्ड र गायकहरूले गीत रेकर्ड गराउनु र क्यासेट बेच्नुभन्दा पहिले नै एक जना गायकको एल्बम ‘सुनसान रातमा’ निकै चलेको थियो। त्यसै एल्बममा रहेको आकासैमा चिल उड्यो धरतीमा छाया जस्ता चर्चित गीत गाउने गायक थिए, सुनिल पराजुली। उनले यो एल्बम किशोर गुरु‍ङसँगको सहकार्यमा रेकर्ड गरेर सन् १९८६ मा सार्वजनिक गरेका थिए। नब्बे दशकमा नेपाली बजारमा पपगीत लोकप्रिय हुन थालेपछि त्यसको ब्याज खाने बेला उनी त्यति सक्रिय देखिएनन्। पछि १९९९ मा ‘आउ’ नामक एल्बम लिएर आए, जुन त्यति चर्चित भएन।

हुन त त्यसअघि रेडियो नेपालले लोकप्रिय बनाएका थुप्रै कलाकार थिए। अग्रज पुस्ताका सबै कलाकारलाई प्रवर्द्धन गरेको जस रेडियो नेपाललाई नै जान्छ। नेपाल टेलिभिजनको लोकप्रियतापछि भने कलाकार प्रवर्द्धन र स्थापित गर्ने शक्ति टेलिभिजनतिर सर्यो। त्यसपछि धेरैले गुनासो गरेको सुनिन्थ्यो, ‘अचेल सुन्ने होइन, हेर्ने गीतको चलन छ।’

टिभीमा सरेको यो शक्तिको केही हिस्सा सन् १९९५ मा सुरू भएको रेडियो नेपालको एफएम प्रसारणले लग्यो। अहिलेका बग्रेल्ती एफएम सुरू हुनुअघि रेडियो नेपालकै स्टुडियोबाट एफएम १०० प्रसारण हुन्थ्यो। त्यसैमा बिहान ६ बजेदेखि राति १२ बजेसम्म विभिन्न कम्पनीहरूले समय भाडामा लिन्थे। हिट्स, क्लासिक, कान्तिपुर लगायतले आफूले किनेको समयमा आफ्नो कार्यक्रम चलाउँथे। समय सकिएपछि पोको कसेर जान्थे। एफएमको लोकप्रियता यस्तो थियो, रेडियोमा बोल्ने प्राय: ‘आरजे’ सेलेब्रेटी थिए।

एफएम युगमा चर्चित भएका कलाकारको सूची लामै छ। सुरुमा ‘स्टिल ह्विल्स’ ब्यान्डको नामबाट बज्ने आँखामा तिमीलाई गीत चर्चित भएपछि अरू गीत नविन भट्टराईको नाममा आउन थाल्यो- साँझ पख, रात बित्यो हेर तिमीलाई सम्झेर …।

‘इन्फर्नल्स’ ब्यान्डको नाममा बज्ने शुभकामना भन्ने गीत चलेपछि अरू गीत दिपेशकिशोर भट्टराईको नाममा आउन थाल्यो- मलाई माफ गरिदेऊ, होश हराए पनि मायालु …।

‘१९७४ एडी’ को मायालुले गीत भएको एल्बम हिट्स एफएमले प्रचार गरेपछि यो ब्यान्ड लोकप्रिय हुँदै गयो। काली कालीबाट हिट भएको ‘लिटलन्स’ ब्यान्डका दीपक बज्राचार्यको माइतीघर, ओ अमिरा गीत एफएममा बजेपछि फेरि चर्चित हुन थाल्यो। ‘भेडेटार’ नामक एल्बम निकालिसकेका जेम्स प्रधान भैगो उनी जाऊन गीत एफएममा बजेपछि चर्चामा आए। त्यस्तै, जति हेर्यो गीतले मोहन भुसाललाई चर्चित बनायो। १५-१६ वर्षकै हुँदा तिम्रो अधर भन्ने गीतबाट चर्चा बटुलेकी नलिना चित्रकारको गीत एफएममा पुनः बज्न थालेपछि उनको सांगीतिक सक्रियता बढ्यो।

यता एफएमको लोकप्रियता बढ्दै गयो, उता टेलिभिजनमा पनि रोशन प्रतापसँगै म्युजिक भिडियो बनाउने दुई टोली सक्रिय हुन थाले। नारायण श्रेष्ठ, सहजमान लगायतको ‘टिम वान’ र भुषण दाहाल लगायतको बिहानी प्रसारण टिम। यो समय नेपाल टेलिभिजनमा धेरै राम्रा म्युजिक भिडिओहरू बने। योगेश्वर अमात्यको जब सन्ध्या हुन्छ, बिधान श्रेष्ठको बुहारी झारझैं लजालु का भिडिओले यी दुवै कलाकारलाई चिनायो र चर्चित बनायो। सुरूमा ‘रक योगिज’ ब्यान्डका गायक योगेश्वर अमात्य पनि पछि ‘सोलो’ गाउन थाले।

गीत हिट हुन रेडियो र टिभी दुवैको समान भूमिका हुन्थ्यो। पछि निजी टेलिभिजनका रूपमा इमेज च्यानल सुरू भयो। इमेजमा कार्यरत तीन जनाले बनाएका तीन कलाकारका तीनथरी भिडिओले ती तीनै जनालाई स्थापित त गर्यो नै, म्युजिक भिडिओको परम्परालाई पनि परिस्कृत पार्यो। ती तीन गीत हुन्:

भुषण दाहालले बनाएको निमा रुम्बाको ब्लक हिल सुज, सहेन्द्र श्रेष्ठले बनाएको ‘कबवेब’ को मर्सिडिज बेन्ज र आलोक नेम्वाङले बनाएको राजन ईशानको वशमा छैन मेरो मन।

त्यसै दौरान धेरै नयाँ कलाकार, ब्यान्ड आए, गए। केही अझै छन्। लोकलयमा आधारित गीत गाउने ‘नेपथ्य’, लेककी हे मायाबाट कन्दरा, ढुंगेसाँघुको मेलैमा बाट देउराली, ऐंसेलुको पातबाट ग्लुमी गाइज, डाँडैमा मेला लागेछ बाट स्काई ब्यान्ड, बस सुन्दरी बाट ब्रोसिस, उँभो उँभो खासा र नतानु त तानु लाग्ने बाट मंगोलियन हार्टस् चर्चित भए। यीमध्ये प्राय: निष्क्रिय भइसके। नेपथ्य, कन्दरा, मंगोलियन हार्टस् अझै सक्रिय छन्।

अब त न रेडियो नेपालमा गीत बजे हिट हुने दिन छ, न एफएम, न टिभी। रेडियो र टिभीको संख्या नै यति धेरै भयो, कलाकारहरूलाई धाएर साध्य छैन, त्यसमा बजेर अर्थ पनि छैन। हरेक पुरानो माध्यमको औचित्य कम हुँदा नयाँ माध्यम सँगसँगै सुरू हुन्छ। अचेल कलाकार र श्रोताका लागि सबभन्दा सहज मध्यम युट्युब बनेको छ। प्राय: कलाकारले आफ्नै युट्युब च्यानल खोलेका छन्।

माथि उल्लिखित रेडियो, एफएम र टिभी पुस्ताका कलाकारजस्तै अहिलेका चर्चित बिपुल क्षेत्री, नितेशजंग, स्वप्निल सुमन, स्वामी डी, सुशान्त केसी, केल्साङ श्रेष्ठ, ५५५ आदि सबैलाई हामीले ‘युट्युब जेनरेसन’ भन्दा गलत नहोला। यसो भनिरहँदा म सोच्छु, म कुन जेनरेसनको? रेडियो, टिभी, एफएम कि युट्युब?

मेरो जमानाका चलेका कलाकारहरूले समेत अब रेडियो र टिभीभन्दा युट्युबमा जोड दिन थालेको देख्दा समय परिवर्तन भएको महशुस हुन्छ। सोच्छु, हाम्रो पुस्ता साँच्चै थुप्रै विकासक्रमको संघार पार गरेको पुस्ता हो। अझै कति संघार पार गर्नुपर्ने हो, समयले बताउला।सेतोपाटी अनलाइनबाट साभार

Comments

comments

Share.
Loading...

Comments