फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले किन भेटेनन् प्रधानमन्त्री ओलीलाई

0

। माथवरसिंह बस्नेत ।

फ्रान्स सरकारको राजकीय भ्रमणमा पेरिस पुगेका नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई त्यहाँका राष्ट्रपति इम्यानुयल म्याक्रोनले किन भेट दिएनन् ? उनी पेरिसका ट्रान्जिट पेसेन्जरका रुपमा अवतरित भएका र लामो समयसम्म चाल्र्स डेगाल एयरपोर्टमा आफ्नो ठूलो टोलीसहित भ्यागाबण्ड बनेर अरल्लिनुसट्टा आइफेल टावर हेरर समय बिताउन प्रधानमन्त्री एडवर्ड फिलिपसंग घुम्न निक्लेका अवश्य थिएनन् । उनी त फ्रान्सका प्रधानमन्त्रीको निम्तामा राजकीय भ्रमणको पूर्व निर्धारित कार्यक्रम अनुसार पेरिस गएका थिए, तैपनि राष्ट्रपति म्याक्रोनले नेपालका प्रधानमन्त्री ओलीलाई किन भेटसम्म दिएनन् ? यो प्रश्न, कुटनीतिक जगतका लागि मात्र होइन, राजनीतिक तहका महारथिहरुको मथिङ्गलमा पनि छल्किन थालेको छ । भ्रमणमा निक्लनु अघिको नेपालको तयारी नपुगेकाले हो कि, कम्युनिष्ट प्रधानमन्त्री भएकाले ओलीलाई भेट गर्ने रुचि माक्रोनमा नजागेको हो ? विनाकारण अतिथिको सत्कारमा लापरवाही गर्नु फ्रेन्च संस्कृति र संस्कारविपरीत हो । फ्रेन्चहरु त्यसैले कुनै पनि अवस्थामा शिष्टाचारको पालनामा लापरवाही गर्दैनन् । त्यसमा उनीहरु अत्यन्त सचेत र सजग हुन्छन् । त्यसमाथि राजकीय भ्रमणमा आएका विदेशी पाहुनाको अपहेलना गरेको कलंक बोक्न उनीहरु किन तयार हुन्थे ? फ्रेन्चहरु अतिथि सत्कारको आफ्नो समृद्ध परम्परा, संस्कार र स्वभिमान विरुद्धका त्यस्ता घटनालाई निन्दनीय व्यवहार मान्छन् ।

फ्रान्स, राष्ट्रपति पद्धति अपनाएको मुलुक हो । यद्यपि आन्तरिक शासन व्यवस्था संचालनमा संसदमा बहुमत प्राप्त प्रधानमन्त्री र मन्त्रिपरिषद्को प्रमुख भूमिका हुन्छ, तथापि विदेश नीतिका मामलामा राष्ट्रपतिको निर्णय नै सर्वोपरी मानिन्छ । राष्ट्रपति जनताबाट सोझै निर्वाचित हुने भएकाले पनि अर्थ, रक्षा, परराष्ट्र, आणविक हतियार परिचालन तथा विदेश व्यापारका सम्वन्धमा अन्तिम निर्णय राष्ट्रपतिको हुन्छ । त्यसैले कतिपय मामलामा प्रधानमन्त्री राष्ट्रपतिको निर्णय कार्यान्वयन गर्ने एजेन्सीका प्रमुखजस्ता देखिन्छन् । तर आन्तरिक शासन व्यवस्था परिचालनका सन्दर्भमा भने प्रधानमन्त्रीलाई राष्ट्रपतिले हस्तक्षेप गर्दैनन् । कानून बनाउने र भएका कानूनमा संशोधन गर्ने विषयमा पनि सरकार आफ्नो निर्णय लिन स्वतन्त्र मानिन्छ । तर अर्थ, परराष्ट्र, रक्षा, आणविक हतियार परिचालन तथा विदेश व्यापारका क्षेत्रमा निर्णय गर्दा राष्ट्रपतिको सल्लाह र सुझाव अपरिहार्य मानिन्छ । ती विषयमा राष्ट्रपतिको पूर्व स्वीकृति लिएर मात्र सरकारले अन्तिम निर्णय लिने गर्दछ । त्यस अर्थमा नेपालका प्रधानमन्त्रीको विशाल टोलीको फ्रान्स भ्रमणमा राष्ट्रपति अनभिज्ञ थिए अथवा उनलाई सूचित गरिएको थिएन भन्ने पटक्कै होइन । सरकार प्रमुखका क्रियाकलाप राष्ट्रप्रमुखबाट छिप्नसक्ने विषय नै होइन । फ्रान्सको संविधानले शक्ति सन्तुलनको जुन व्यवस्था गरेको छ, त्यसले पनि सरकार प्रमुख र राष्ट्रप्रमुखलाई उनीहरुका क्रियाकलापको एक अर्कालाई अवगत गराउने सुसंगत व्यवस्था गरेको छ । त्यस्तो अवस्था हुँदाहुँदै पनि राष्ट्रपति म्याक्रोनले फ्रान्स भ्रमणमा रहेका नेपालका प्रधानमन्त्रीलाई भेट गर्ने समय किन निकालेनन् भन्ने कौतुहलता नेपालीमा जागेको छ ।

फ्रान्सको राजकीय भ्रमण गर्ने नेपालका पहिलो प्रधानमन्त्री थिए– जंगबहादुर कुँवर । उनी बाटाको म्यादबाहेक लगभग सात महिना बेलायतमा बिताएर फ्रान्सको भ्रमणमा निक्लेका थिए, सन् १८५० को अगस्त २१ तारीखमा । त्यसबेला अहिलेको जस्तो कुटनीतिक सम्वन्धको मान्यता विकसित भइसकेको थिए, तथापि औपचारिक सम्वन्ध जोड्ने विधि र प्रक्रिया उतिखेर पनि थियो । त्यसअनुसार नेपालको फ्रान्ससित कुनै प्रकारको सम्वन्ध थिएन । तैपनि बेलायतबाट नेपाल फर्कनुअघि जंगबहादुर कुँवरले फ्रान्सको भ्रमण गर्ने उत्कट चाहना आफ्नो रेखदेखका निम्ति सरकारले खटाएका लियाजो अफिसरसंग व्यक्त गरेका थिए । उनले आफ्नो सरकारको अनुमति लिएर तत्कालीन फ्रान्सका राजदूतसंग त्यस विषयमा कुरा अघि बढाइदिएका थिए । राजदूतले पनि नेपालका प्रधानमन्त्री जंगबहादुर कुँवरलाई रिझाउन बेलायत सरकारले गरेको खातिरदारीको ठूलो बखान गरेको विस्तृत विवरण फ्रान्सका राष्ट्रपति लुइस नेपोलियनलाई पठाएका थिए । उनले त्यस्तो गोप्य रिपोर्टमा नेपाल सानो पहाडी मुलुक भएपनि त्यसका निवासीहरु साहसी र लडाकु भएका र प्रधानमन्त्री जंगबहादुर कुँवर पनि बेलायती शक्तिको सामना गर्नसक्ने अर्को शक्ति भनेको फ्रान्स नै हो भन्ने सुनेकाले तर आफैंले परीक्षण गरेर मात्र पत्याउन चाहेको तथ्य खुलाएका थिए ।

जंगबहादुर कुँवरको बेलायत प्रवासकालमा महारानी भिक्टोरिया, प्रधानमन्त्री लर्ड जोन रसेल, इष्ट ईण्डिया कम्पनीका डाइरेक्टरहरु, ठूला उद्योगपति, उच्चपदस्थ कर्मचारी, नाट्यकलाकार तथा पत्रकार सबैले उनको ठूलो स्वागत, सम्मान र प्रशंसा गरेका थिए । बेलायती अखवारमा त्यहाँको सरकारको आलोचना मात्र होइन, नेपाली प्रधानमन्त्रीका पोशाक र फिजुल खर्चका बारेमा पनि धेरै टिका–टिप्पणी भएका थिए । जंगबहादुर, अंग्रेजी भाषा जान्दैनथे । उनलाई अरुले अखवार पढेर त्यसको अर्थ लगाइदिनुपथ्र्यो । तर उनी अंग्रेजहरुको स्वागत सत्कारको अर्थ राम्ररी बुझ्थे । उनलाई आधुनिक हतियारका कारखाना, पानी विशाल समुन्द्री लडाकु बेडा देखाएर सूर्य नअस्ताउने साम्राज्यको शक्ति र सामथ्र्यको तुजुक किन प्रदर्शन गरिरहेछन्, त्यसको अर्थ कसैले लगाइदिनु पर्दैनथ्यो । उनले बुझिसकेका थिए, संसारको एक नम्वरको शक्तिशाली देश भनेको बेलायत नै हो । त्यसैले उनको तलाश थियो, दुई नम्वरको शक्ति कुन हो रु किनभने जंगबहादुरलाई थाहा थियो, कुनै दिन एक नम्वरसित जोरी खोज्नु प¥यो भने दुई नम्वरसित गएर मिल्नुको विकल्प हुँदैन । त्यही दुई नम्वर शक्तिको तलाशमा उनले फ्रान्सको भ्रमण गर्ने चाहना व्यक्त गरेका थिए । फ्रान्सका बारेमा उनले सुनेका मात्र थिए, देखेका थिएनन् । उनका लियाजो अफिसर पनि एशिया र अफ्रिकामा बसेर अनुभव बटुलेका परिपक्व व्यक्ति थिए । उनले जंगबहादुर कुँवरलाई फ्रान्सको भ्रमण गरेर मात्र फर्कने सल्लाह मात्र दिएनन्, त्यसका निम्ति चाहिने तयारीमा पनि पूरै सहयोग गरे । त्यतिबेला फ्रान्ससंग त्यसअघि नेपालको गोरु बेचेको सम्वन्ध पनि थिएन ।

बेलायत जानुअघि जंगबहादुरले पनि सोचेका थिएनन् कि फ्रान्सको पनि राजकीय भ्रमण हुने छ । केही फ्रेन्च मिसनरीहरु भारतबाट नेपालहुँदै तिब्बत जान आएका र नेपालको अनुमति लिएर उनीहरु ल्हासातिर लागेका थिए तर उनीहरु उता पुगे कि पुगेनन्, अथवा फर्केर पनि गएको कुनै सूचना सरकारलाई नभएको कुरा प्रधानमन्त्री हुनु अगाडि नै सुनेका थिए । भारतमा अंग्रेज र फ्रान्सका फौजका बीचमा घमासान युद्ध भएको र फ्रेन्चहरु पछि हटेको खबर पनि उनले लैनका गोराहरुबाट सुनेका थिए । तर लण्डनमा सात महिना बिताउँदा थरिथरिका व्यक्तिबाट फ्रान्सका बारेमा जे जस्ता वर्णन उनले सुने, त्यसबाट त्यो चानचुने देश होइन भन्ने छाप पर्न पुगेको थियो । पेरिस पुगेपछि त्यसको पुष्टि पनि भयो ।

फ्रान्सको राजधानीमा जंगबहादुरको भव्य स्वागत राष्ट्रपति लुइस आफैंले गरेका थिए । रात्रिभोज र नाँचगाना सकिएपछि जंगबहादुरलाई फ्रान्समा के हेर्ने इच्छा छ भनेर सोधेको प्रश्नको जवाफमा उनले भर्सेलिजको दरवार नजिकैको सर्टरी भन्ने परेड ग्राउण्डमा एक लाख सेनाले कवाज खेलेको हेर्ने चाहना व्यक्त गरेका थिए । सन् १८४८ मा युरोपका विभिन्न देशमा क्रान्ति र परिवर्तन भएका थिए । त्यसको उग्र प्रभाव फ्रान्समा पनि परेको थियो । त्यस्तो पृष्ठभूमिमा एकलाख सैनिक एक ठाउँमा भेला गर्नु कम जोखिमपूर्ण थिएन । तर अतिथि सत्कार पनि हर हालतमा गर्नै परेको थियो । तसर्थ राष्ट्रपतिले दुई साता लगाएर विभिन्न स्थानका पल्टन झिकाएर एक लाख फौजको परेड जंगबहादुरलाई अवलोकन गराएका थिए ।

त्यस्तो समृद्ध परम्परा भएको फ्रान्सका राष्ट्रपतिले एक्काइशौं शदीको नेपालका प्रधानमन्त्रीलाई शिष्टाचार भेट गर्ने समय पनि प्रदान नभएको घटनाले निश्चय पनि नेपाल अपहेलित भएको छ । त्यस्तो अप्रिय स्थिति किन र कसका कारणले उत्पन्न भयो ? त्यसबाट हाम्रो कुटनीतिको स्तर उठेको ठान्ने कि गिरेको मान्ने पाठकहरुकै जिम्मा छाडौं । दृष्टि न्युज अनलाइनबाट साभार

Comments

comments

Share.
Loading...

Comments