महिलामा पाठेघर खस्ने समस्या विकराल अबस्था

0

कमल न्यौपाने  । महिलाहरुको स्वास्थ्य प्रति चासो नलिएर उनिहरु प्रति अमानविय व्यवहार, रुढीबादी परम्परा र सामाजिक कु–संस्कारका कारण महिलाहरुको मासिक धर्म (रजश्वला), सुत्केरी भएको बेला चिसो गोठमा छाउपडी कटेरोमा बस्नुपर्ने र यसलाई स्थानीय भाषामा नहुने वार्ने चलन भनिन्छ । सामान्य तथा दैलेख लगायत अछाम, कालिकोट, सुर्खेत, डोटी आदि पहाडी जिल्लाहरुमा यस समस्याले विकराल रुपमा लिएको छ । यी जिल्लाहरुमा महिलाहरु नहुने (रजश्वला) हुँदा र सुत्केरी हँुदा पशु व्यवहार गरिन्छ । महिलाहरुलाई सुत्केरी हुने व्यथा लाग्ने बित्तिकै गाई भैसीको गोडमा लगिन्छ र त्यहीं बच्चा जन्मिन्छ ।

बच्चा ११ दिन नहुने बेला सम्म त्यही गोठमा राखिन्छ । कतिपयको त्यही गोठमा सरसफाईको अभावले आमा तथा वच्चा दुवैको मृत्यु पनि भएको छ । यि अवस्थाका दिनहरुमा महिलाहरुले चिसो फोहोर सिडीमा, पशुहरुसंग गोठमा, कपडा परालमा आलीको कान्लामा नाटकिय रुपमा सुक्का रोटीको भरमा ५ देखि ११ दिन सम्म बिताउनु पर्छ । आफू काखको बच्चा संगै भए नबालकले समेत आमा जस्तै दुःख बिताउनु पर्छ । रजश्वला भएका महिलाहरु दुध, दही, घ्यू र मही आदि केही दिनु हुदैन भन्ने मान्यता भएकोले र बारीमा तरकारी नभएकोले हाँसे नुनसंग सुकेका रोटी खाएर दिन विताउन बाध्य हुनपर्छ । जसको कारण आमा र बच्चा दुवै कुपोषणका शिकार भएको हुने गरेका छन् । दैलेख जिल्लाका अधिकांश गाविसमा यस प्रथाले जडो गाडेका छ । सामान्यतया महिला र रजश्वला हुदा साविक भन्दा वढी पोसिलो खानेकुरा खुवाइने र आराम चाहिनुको खुट्टा उनिहरु सुक्का रोटीको भरमा साविक भन्दा धेरै काम गर्न बाध्य छन् ।

गर्भावस्थामा पोसिलो खानेकुरा, फलफूल खाने तथा आरामको साथ–साथै स्वास्थ्य जाँच गर्भपरीक्षण जस्ता कुराबाट बञ्चित भई गर्भावस्थामा आमा तथा बच्चालाई पोषणको कमि आवश्यक आराममा न्यूनता, स्वास्थ्य परीक्षण नगराउँने, गर्भपरीक्षण नगराउने जस्ता चेतनाको कमिको कारण यहाँका महिलाहरु सुत्केरी तथा रजश्वला भएको बेला घरायसी तथा वाह्य काम साविक कै अवस्थामा गर्न बाध्य छन् ।

यसैगरी असुरक्षित स्थानमा बच्चा जन्मिने, असुरक्षित रुपमा पेटको बच्चालाई फाल्ने, सुत्केरी हुँदाका दिन देखि नै गह्रौको भारी बोक्ने, पिठो पिस्ने, गोठमा असुरक्षित साथ खाना खाने र सुत्केरी भएको केही दिनमा नै यौन सम्पर्क गर्ने कारणले गर्दा महिलाहरुको पाठेघर खस्ने समस्याबाट पीडित हुनु परेको छ । त्यसैले अहिले दैलेखको स्थानीय भाषामा आङ्ग खस्ने, भण्डारो आउने भन्ने समस्याले महामारीको रुपमा गम्भिर समस्या लिएको छ । ग्रामीण इलाकामा वालविवाह, परिवार नियोजन, कम उमेर गर्भाधारण गर्न नहुने आदिको चेतना छैन । त्यसैले यहाँका महिलाहरु कम उमेर नै धेरै बच्चा जन्माई सकेका हुन्छन् यहाँका करिब विवाह गर्न उमेर २० देखि २५ वर्ष सम्म महिला वढी भैसकेका हुन्छन । वर्सेनी सन्तान जन्माउन र छोरा हुनुुपर्ने अन्धविश्वासको कारण महिलाहरु यस समस्यामा वढी पीडित भएका छन् ।

पाठेघर खस्ने समस्याका कारण महिलाहरूले हेलामा बाँच्नुपरेको छ । अशिक्षा र गरिबीको कारण अधिकांश महिला पाठेघर समस्याको उपचार नगरी रोग पालेर बस्ने गरेका छन् । ग्रामीण क्षेत्रमा रहेका महिलाहरूमा बढी समस्या छ । महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी समस्यामध्ये पाठेघर खस्ने मुख्य समस्या हो । परिवारका सदस्यसँग कुरा गर्दा लाज र इज्जत जाने डरले सबैले रोग पालिरहेको अवस्था छ । यसले कतिपय महिलाहरू मानसिक, शारीरिक रूपमा श्रीमानबाट समेत पीडित भएर बाँच्न बाध्य छन् ।पाठेघर महिलाको प्रजनन् अंग हो । बच्चा जन्माउँदा प्रजनन् अंगमा असर गर्छ र पाठेघर ‘लुज’ भएर जान्छ । पाठेघरलाई अरु तन्तुहरूले जोेडेर राखेको हुन्छ, सपोर्ट कम भएपछि ‘लुज’ भएर तल आउँछ । पाठेघर भएको ठाउँ छोडेर केही सर्नुलाई नै पाठेघर खस्नु भनिन्छ । कसैको कम खस्छ भने कसैको धेरै खस्छ ।

एकचोटि बच्चा पाइसकेपछि ‘लुज’ हुन्छ, यस्तो हुनेबित्तिकै खसेको भन्न मिल्दैन । पाठेघर खसेको धेरै महिलाहरूले थाहा नै पाउँदैनन्, बढी भएपछिमात्रै थाहा पाउने गरेका छन् । खस्ने समस्यामा पाठेघरको दोष हुँदैन, त्यसलाई जोड्ने तन्तुहरूको हुन्छ । कति महिलाहरूले खस्नेबित्तिकै निकाल्नुप¥यो भन्छन, तर निकाल्नु पर्दैन, मर्मत गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । सरकारले यसका लागि लामो समयदेखि अस्पतालदेखि लिएर गाउँ–गाउँमा शिविर चलायो । त्यसैले पहिले र अहिलेमा धेरै फरक छ, पहिलेभन्दा अहिले संख्या कम भइसकेको छ । दुर्गम क्षेत्रमा भने दक्ष जनशक्ति नभएका कारण समस्या छ । सुत्केरीपछि आराम नगर्ने, सुत्केरीलगत्तै गह्रँुगो काम गर्ने गर्दा यो समस्या उत्पन्न भएको हो । पहाडी भेगमा उकालो–ओरालो गर्नुपर्छ, त्यसो गर्दा पेटमा समस्या पर्छ ।

बच्चा पाएपछि पेटमा ६ हप्तासम्म असर पर्न दिनु हुँदैन । तर, सुत्केरी भएर न्वारान हुनुअगावै काम गर्छन् । त्यो प्रेसरले गर्दा पाठेघर टाइट हुनै पाउँदैन । ६ हप्तासम्म आराम गरेमा विस्तारैै पाठेघर टाइट हुँदै आउने हो । अहिले त्यो चेतना बढेकाले समस्या केही कम भएको छ ।  पाठेघरको उपचारका लागि शिविरहरू भइरहन्छन् । मैले पनि धेरै शिविरमा गएर अप्रेसन गरेको छु । सूचना प्रवाहको काम पनि भइरहेको छ । समस्या छ भने आउनुस् । अप्रेसनको लागि पैसा लाग्दैन । बच्चा जन्मिएकाहरूमा मात्रै पाठेघर खस्ने समस्या आउँछ भन्ने छैन । गर्भवती नभएका युवतीमा पनि समस्या आउन सक्छ ।

पाठेघर झर्नु र बच्चा पाउनु आफैंमा रोग हुँदै हैन । तर, पाठेघर खसेपछि नयाँ रोगहरू आउन सक्छन् । पाठेघर झरेपछि तन्केर जान्छ र त्यहाँ रगतका नलीहरू पुग्न सक्दैनन् । नपुगेपछि त्यस ठाउँमा रगत कम हुन्छ र घाउहरू बन्छ, अल्सर हुन्छ । रगत र अक्सिजनको मात्रा नपुगेर अल्सर हुन्छ, त्यसपछि सेतो पानी बग्छ । अर्को समस्या, पाठेघर त ‘लुज’ भएर खस्ने हो, पाठेघर खस्नेसँगै पिसाब थैली पनि झर्छ । पछाडिपट्टि मलद्वारको भाग पनि झर्छ । पिसाबको थैली झर्नेमात्रै हैन, जुन नली छ त्यो खुला हुन्छ, लुज हुन्छ, त्यसपछि पिसाब रोक्न सकिन्न ।

खोक्दा, हाछ्युँ गर्दा, हाँस्दा, उकालो–ओरालो गर्दा पिसाब चुहिने सम्भावना हुन्छ । पाठेघर र पिसाब थैली खसेपछि एकै ठाउँमा डल्लो हुन्छ, त्यहाँ पिसाब जमिराख्छ । त्यसले संक्रमण हुन्छ, पिसाब गर्ने पोजिसन फरक गरेपछि मात्रै पिसाब हुन्छ । मृगौलाबाट पिसाब नली हुँदै पिसाब थैली भएर बाहिर निस्किने, युरिन आउने ठाउँहरू तन्किएर ब्लक हुन्छ ।

त्यो भएपछि बांगिएर पिसाब राम्रोसँग ‘ड्रेन’ हुन सक्दैन । पछि पछि त मृगौला पनि सुनिँदै÷फुल्दै जान्छ, अनि काम गर्न छोड्छ । यसलाई युरोप्याथी भनिन्छ । सामाजिक जटिलता पनि हुन्छ । सेतो पानी बगिरहन्छ, रगत पनि बग्न सक्छ, पिसाब पनि चुहिन्छ । यस्तो हुँदा दुर्गन्ध हुने भएका कारण सामाजिक भेलामा महिलाहरूलाई जान गाह्रो हुन्छ । सानो उमेरमा विवाह गरेर बच्चा पाउँदा पनि पाठेघर खस्छ । यौनसम्पर्क गर्न गाह्रो हुँदा उनीहरूको दाम्पत्य जीवनमा जटिलता आउन सक्छ । यसले मनोवैज्ञानिक असर पर्ने भइहाल्यो ।
कारण थाहा भयो भने राम्रो हुन्छ । बच्चा पाउने नै मुख्य समस्या हो भने दक्ष जनशक्ति भएको ठाउँमा डेलीभरी हुनुपर्छ । डेलीभरी गर्न नआउनेसँग गर्यो भने साल निस्किएन भनेर पेटमा थिचेर निकाल्न खोज्छन् ।

त्यो समयमा त्यसै त पाठेघर ‘लुज’ भएको हुन्छ, झन् थिच्दा धेरै ‘लुज’ हुन्छ । साल निस्किने भनेको त बच्चा जन्मिसकेपछि ५ देखि १५ मिनेटमा हो । त्यो आफैँ उप्किएर आउने हो । हतार गरेर हुँदैन, तर कतिलाई थाहा नभएर त्यसो गरिरहेका हुन्छन् । पाठेघर त बच्चा जन्मिइसकेपछि पनि २÷३ दिन बच्चा पेटमा हुँदाजस्तै रहिरहन्छ । तर, मानिसहरू नबुझेर अझै केही छ भनेर थिच्छन् । त्यो पनि मुख्य कारण हो पाठेघर खस्ने ।

व्यथा लामो समयसम्म भयो भने पनि पाठेघर ‘लुज’ भएर खस्नसक्छ । सुत्केरी भएपछि ६ हप्तासम्म आराम गर्नुपर्छ । सामान्य व्यायाम गर्नुपर्छ, त्यसो गर्दा योनीमा मसल्सहरू टाइट हुन्छ । पाठेघर खसेको उपचार अप्रेसनमात्रै होइन । धेरै नै खसेको छ भनेमात्रै अप्रेसन गर्नुपर्छ । व्यायाम गर्दा पनि बढी हुन दिँदैन, बरु कम गर्छ । अर्को भनेको रिङ प्रयोग गर्ने हो । रिङ पनि दुई किसिमको हुन्छ । एउटा तीन–तीन महिनामा फेर्नुपर्ने हुन्छ भने अर्को सिलिकन हुन्छ । यो धेरै गन्हाउने पनि हुँदैन । लामो समयसम्म राख्न मिल्छ र त्यसैलाई फेरि सफा गरेर पनि राख्न मिल्छ । रबरको रिङचाहिँ फेरिरहनुपर्छ । त्यही सफा गरेर प्रयोग गर्यो भने इन्फेक्सन हुने सम्भावना हुन्छ ।

लुगा च्यातिएपछि सिलाउनुपर्छ, ‘लुज’ भयो या ठूलो भयो भने घटाउनुपर्छ । पाठेघर खसेको उपचार पनि यस्तै हो । कुपोषित छ भने मासुको तन्तुहरू बलियो हुँदैन, त्यसो हुँदा पोषणयुक्त खायो भने केही राम्रो हुन्छ । गर्भवती हुँदा विशेष ध्यान दिनुपर्छ । बच्चालाई स्तनपान गराइरहनुपर्छ, त्यसकारण पोषण दूधमा गएर महिलाको आफ्नो शरीरमा पोषणको कमी हुन्छ । त्यसैले पोषणयुक्त खानेकुरा खानुपर्छ । सुत्केरी हुँदा रगत बगेको हुन्छ, त्यसको पूर्तिको लागि पनि प्रशस्त पोषणयुक्त खानेकुरा खानुपर्छ ।  स्वास्थ्य संस्थामा डेलीभरी गर्ने, गर्भवती हुँदा र सुत्केरी भइसकेपछि पोषिलो खानेकुरा खाने, सुत्केरी भइसकेपछि कम्तिमा ६ हप्ता आराम गर्ने पेटमा असर पर्ने खालको गह्रो काम नगर्ने गर्नुपर्छ ।

Comments

comments

Share.
Loading...

Comments