नेताका कुरा, माछाका भुरा

0

। संकेत कोइराला ।

एकपटक नौ अंकले आठ अंकलाई थप्पड हान्यो । पीडा सहन नसकेर आठले आँसु झार्दै सोध्यो– ‘मलाई किन हिर्काएको ?’ कति पनि नहिच्किचाई उसले भन्यो– ‘म तँ भन्दा ठूलो छु, त्यसैले ठटाएँ के गर्छस ?’ यो सुन्नेवित्तिक्कै आठले सातको गालामा तोरीको फूल देखिने गरी बजायो । यो क्रम सातले छ, छ ले पाँच, पाँचले चार, चारले दुई, दुईले एक हुँदै बढ्दै गयो ।

जब एकको पालो आयो, उ धर्मसंकटमा प¥यो । उसको पछाडि थियो– शून्य । एकले शून्यलाई पिटेन । बरु प्रेमपूर्वक छेवैमा राख्यो । जसबाट उसको शक्ति दश भयो । एकको बुद्धि देखेर शक्तिको दम्भ देखाउनेहरु लज्जित भए । शक्तिकी देवी भगवतीको आराधना गर्ने बडादशैं शुरु हुँदैछ ।

त्यही मानिस हो, निशस्त्र जटाधारी शिव, बनबासी राम, अहिंसावादी गौतम बुद्धको उत्सव एकदिन मनाउँछ । तर बाघमा आरुढ रक्तमुछेल टाउकाको माला लगाएकी भगवतीको आराधना आधा महिना गर्छ । देवीलाई खुसी पार्न निर्दोष जनावरको बली नामको होली खेल्छ । राजनीतिसंग जोडिएको मनोविज्ञान पनि यही हो ।

शक्तिको पूजा गर्ने विधान अध्यात्मदेखि नै आरम्भ भएको हो । मानिसले अनसन बसेर माग पूरा गर्ने परम्परा देउताका नाममा गरिने भाकलबाट शुरु भएको हो । राजा जनकले छोरीको विवाह गर्दा ज्वाईंको चयनसमेत धनुमा ताँदो चढाउने वीर पुरुषबाट गरे । यसमा राजनीति र संस्कृति दुवैको मिश्रण छ ।

अंक गणितको हिसावमा एकमा एक थप्दा दुई हुन्छ । तर राजनीतिमा एक जोड एकको परिणाम एघार हुन्छ । त्यसैले त आँखा नदेख्ने धृतराष्ट्र नासोमा प्राप्त श्रीपेचको सम्मोहनबाट निरपेक्ष रहन सकेनन् । हस्तिनापुरका लागि भएको त्यो बेलाको लडाईं अद्धविराम मात्र हो । चुनाव नामको महाभारतले नेपालमा त्यस्ता थुप्रै हस्तिनापुरको जन्म दिएको छ ।

द्रोणाचार्यजस्ता शिद्धहस्त महाज्ञानी गुरुले पनि छोरा अस्वत्थामालाई अरुको तुलनामा ठूलो प्वाल भएको लोटा लिएर पानी भर्न पठाएकै हुन । पढ्दा सामान्य लागेपनि पानीभन्दा रगत बाक्लो हुन्छ भन्ने सत्यको परिभाषा कहाँ फेरिएको छ र ? अझ दक्षिण एशियाको राजनीति यिनै धार्मिक ग्रन्थको म्युजिकल चियरमा घुमिरहन्छ ।

नालायक सन्तान पनि कुर्सीमा उक्लिएपछि कसी लाग्छ भन्ने मनोविज्ञान हावी छ । यस्तै कर्मले त नेताका कुरा र माछाका भुरा उस्तै भएका हुन नि । यी दुवै पक्रन खोज्यो कि चिप्लिन्छन् । हेर्नुस त देशमा झण्डै तीन करोड जनसंख्या छ । तर नाम छ– वर्षौंदेखि लोकमानसिंह कार्की, चुडामणि शर्मा, गोपाल खडका अनि तीर्थराज खनियाँहरुको । हामी नर्सरीमा तीतेपातीको खेती गर्छौं, अनि काटने बेलामा उखु खोज्छौं ।

निमको पातमा थोरै मह दल्छौं र भन्छौं– विकास र सुशासनको मूल फुट्यो । हामी यस्तो देशमा छौं, जहाँ डाक्टर स्वास्थ्य, वकिल न्याय, प्राज्ञिक ज्ञान, सरकार स्वतन्त्रता, मिडिया सूचना, धर्म नैतिकता, बैंक अर्थ व्यवस्था नष्ट गर्ने प्रतिस्पर्धामा छन् । परिणामतः जनता त्यो फर्सी भएको छ, फर्सीले चुलेसी या चुलेसीले फर्सी काटेपनि अन्ततः काटिने नियति फर्सीकै भाग्यमा लेखिएको छ ।

जनता र नेताको सम्बन्ध खुकुरी अचानो जस्तो भएको छ । एउटा दुखाइरहने अर्को सहिरहने । बरु हुनुपर्ने मैन धागोजस्तो थियो, एउटा जलेपछि अर्को पग्लने । कोही आफ्नो काँधमा टाउको राखेर रुन सक्दैन । आफैलाई अँगालो हाल्न सक्दैन । सम्बन्धले मुनाफा दिने होइन, मात्र जीवन सम्पन्न बनाउने हो । घडी जुनसुकै बाँधे पनि समय उही हो । मोबाइल जति महँगो होस, कुरा गर्ने मानिस उही हो ।

८७ प्रतिशत मानिसले आफूलाई जवाफ थाहा भएको प्रश्न सोध्छ रे !  जीवन र उमेरमा के फरक छ ? निरासा र दुख मानेर बिताएका प्रत्येक क्षण उमेर हो । खुसी र आनन्द मानेर बिताएका प्रत्येक क्षण जीवन हो । विज्ञानले भन्छ– जिब्रोमा लागेको घाउ सबैभन्दा छिटो निको हुन्छ । तर ज्ञानको ठहर छ– ‘जिब्रोले लागेको घाउ कहिल्यै निको हुँदैन ।’

विभीषण रावण राज्यमा पनि बिग्रिएनन । कैकेयी रामराज्यमा पनि सप्रिनन । त्यसैले सप्रिनु र बिग्रनु व्यक्तिको सोच र स्वभावमा निर्भर रहन्छ । भनिन्छ, समय एउटा यस्तो इमान्दार बस्तु हो, जसले पर्खाउन लाएर धोका दिँदैन । खुसीको एउटा ढोका बन्दसंगै अर्को ढोका खुलेको हुन्छ । तर खुलेको ढोकातिर हाम्रो आँखा जाँदैन ।

भाग्य लिफ्ट हो भने मेहनत सिँढी हो । सिंढीले किमार्थ धोका दिँदैन । मानिस आफैमा यस्तो अद्भूत र रहस्यमयी शक्ति हो कि उसले आफूभित्रको त्यो सामथ्र्य चिनेकै हुँदैन । जागा भएको अवस्थामा मानव मस्तिष्कले १२ देखि २५ वाट विद्युत निकालिरहेको हुन्छ । जुन सानो चिमलाई निरन्तर बाल्ने क्षमताको विद्युत हो ।

औसत दिमागले दैनिक ५० हजार विचार उत्पादन गर्छ । त्यो मध्ये ७० प्रतिशत नकारात्मक हुन्छ । मानिसको दिमागमा ८ अर्ब ६० करोड न्यूरोन कोष हुन्छन् । पत्याउनुहुन्छ ? मानव शरीरमा पानीबाहेक २२ सय सलाईको काँटी बनाउन पुग्ने फस्फोरस, सल्फर र २५ मिमि नङ तयार पार्न पुग्ने आइरन र ३० ग्राम अन्य धातु हुन्छ ।

मानिसको फोक्सोमा तीन क्यापिलरिज (अत्यन्तै साना रक्तनली) हुन्छन् , जसलाई फैल्याउँदा त्यसको लम्बाई २४ सय किलोमिटर हुन्छ । तर के गर्नु शरीरमा आगो छ भनेर ताप्न त नमिल्ने रहेछ । मुलुक अन्धकार छ भनेर त्यसलाई बिजुलीको तार बनाउन नसकिने रहेछ ।
एक जापानी साहित्यकारको सुझाव छ– “तिमीलाई एक वर्षको चिन्ता छ भने एउटा रुख रोप, यदि समंग्र जीवनका लागि योजना रोप्न चाहन्छौं भने आफ्नो युवाकाललाई नै यसका लागि अर्पित गर ।”

भाँडो अनुसार आकार बदल्न सक्ने पानीले मानिसलाई समयोचित नैतिक सन्देश प्रवाह गरिरहेको हुन्छ । अझ धीर मानिसको उदाहरण दिनुपर्दा समुद्रसँग तुलना गर्ने नेपाली समाजको परम्परा नै हो । जब झुसिलकिराले अब संसार सकिदैछ भन्ने सोच्छ , तब उ सुन्दर पुतलीमा अनुवाद हुन्छ । मानिस आलोचनाबाट बच्ने तीन उपाय छन् ।

केही नगर, केही नभन र केही नबन । मान्छे केही पाउनकै लागि स्तुति गर्छ तर निन्दा भने निन्दाकै लागि मात्र गर्छ । मान्छे अर्काको राम्रो हैन, नराम्रो भन्न र सुन्न रस लिन्छ । निन्दा रसिलो र प्रशंसा निरस हुन्छ । नीतिले भन्छ– ‘जो राजर्षि बनी देशको सेवा गर्छ उसले गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन, रहस्य लुकाउने क्षमताजस्ता गुणहरु आफूमा सुरक्षित राख्नु आवश्यक छ ।’

प्रकृतिले मानिसको शरीरलाई यस्तो चमत्कारयुक्त बनाएको छ, जसका अगाडि संसारका सवै वस्तु रंगहीन ठहर्छन् । चाणक्यले मानिसको नैतिक साहसको मूल्य बताउँदै भनेका छन्– ‘ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन् । जब कि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छोड्छ ।

कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्दछ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ । तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन् ।’ संसारका सबै मानिसले बुझ्ने भाषाको नाम हो– हाँसो । हरेक राजनीतिको गन्तव्य त्यही हो । त्यसबाहेकका सबै चिज बस्तुको हैन, मान्छेको व्यापार बढाउने कुटिल खेल मात्र हो ।

जिन्दगी रेलको पट्री, सडकमा जसरी गुड्दैन । यो त गंगाको नहर जसरी बग्छ । जहाँ पानीको लागि बाटो खनिएको हुँदैन । मन सफा सेतो कपडाजस्तै हो । यसलाई जुन रंगमा डुबायो, त्यही रंग सर्छ । मानिसले पन्छी जसरी उडन जान्यो । माछाजस्तै पौडन सिक्यो । तर मान्छे जस्तो भएर पृथ्वीमा रहन अझै जानेन ।

देश समृद्ध हुनु पछाडि तीनवटा रहस्य हुन्छन् । त्यो हो, एक शिक्षा, दुई शिक्षा, तीन शिक्षा । देश नलुटौंभन्दा दलहरु, पैसाअनुसारको पेट्रोल माग्दा पम्पवाला, देश आफै चलाउँछु भन्दा भारत, भाडामा बस्नेलाई पानी माग्यो घरबेटी, मिटरमा उठेको मात्र पैसा दिँदा ट्याक्सीवाला रिसाउने ।

पहिला सेटिङ, अहिले स्कर्टिङ । इतिहास कस्को पो गतिलो छ र ? मलेशियामा सार्वजनिक शौचालय अत्यन्त दूषित भएपछि त्यस विरुद्ध अभियान सञ्चालन गर्न सरकारले क्याम्पसमा शौचालय व्यवस्थापन कोर्स समावेश ग¥यो । सिंगापुर र बेलायतमा यसप्रकारको पाठ्यक्रम शुरु गरिएपछि सुधार आएको थियो ।

पलाञ्चोक देवीको मूर्ति बनाउने कालिगढले अर्को यस्तो मूर्ति बनाउन नसकोस भनेर दाहिने हात काटियो तर उसले देब्रे हातले मात्रै शोभा भगवतीको मूर्ति बनायो । विरालोले दूध चोरेको कसैले देख्दैन, कुटाई खाएको सबैले देख्छन । विकासको भावभूमि पनि त्यही हो ।sanketkoirala07@gmail.com

साभार himalayatv.com बाट

Comments

comments

Share.

Comments