आर्मीलाई हराउँदै एपीएफ समूह विजेता

0

काठमाडौं । साविक विजेता एपीएफ क्लब समूह विजेता बन्दै पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफ समूह विजेता बनेको हो । विभागीय डर्बी भिडन्तमा एपीएफले आर्मीलाई २५-१०, १९-२५, २५-१८ र २५-११ ले पराजित गर्यो ।

जितसँगै समूह ए को एपीएफले समूह चरणमा शतप्रतिशत जित निकाल्यो । ३ खेलमा ३ जितसहित एपीएफले ९ अंक जोड्यो । एपीएफले पहिलो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र दोस्रो खेलमा भरतपुर मेट्रो खेलकुद परिषदलाई हराएको थियो ।

आर्मी भने समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । आर्मीले ३ खेलमा ६ अंक जोड्यो । आर्मीले यस अघि भरतपुर र जावलाखेललाई नै हराएको थियो ।

यस समूहबाट भरतपुर र जावलाखेल भने समूह चरणबाट बाहिरिएका छन् । प्रतियोगिता अन्तर्गत अब समूह बी बाट भने सेमिफाइनल पुग्ने टोलीको तय हुन बाँकी रहेको छ । यस समूहमा न्यू डायमण्ड स्पोर्ट्स क्लब र पुलिस सेमिफाइनल नजिक रहेका छन् ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिलातर्फ ७ टिमको सहभागिता रहेको छ । माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।

प्रकाशित मितिः २०७६ माघ ०७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments