सातै प्रदेशमा आज बजेट प्रस्तुत हुँदै

0

काठमाडौं, १ असार । संघीय संरचनामा पहिलोपटक आज सात वटै प्रदेशले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक बजेट प्रदेशसभामा पेस गर्दैछन् । असार १ गतेभित्र वार्षिक आय–व्ययको अनुमान प्रदेशसभामा पेस गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अनुसार बजेट पेस हुन लागेको हो ।

देश संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेश सरकारले आफ्नो बजेट ल्याउन लागेका हुन् । यही प्रावधान अनुसार सातै प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीले संसदमा बजेट प्रस्तुत गर्दैछन् ।

यसअघि प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । त्यही नीति तथा कार्यक्रमलाई टेकेर सातै प्रदेशहरुले बजेट ल्याउन लागेका हुन् । नीति तथा कार्यक्रममा प्रदेशहरुको अलग–अलग प्राथमिकता तय भएकाले बजेट पनि त्यही अनुसार आउने अनुमान गरिएको छ ।

जेठ १५ गते १३ खर्ब, १५ अर्ब १६ करोड १७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको केन्द्र सरकारले प्रदेश तहलाई १ खर्ब ८३ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको थियो । प्रदेश सरकारले केन्द्र सरकारबाट विनियोजित बजेट र आफ्नो आन्तरिक स्रोतको विश्लेषण गरेर बजेट प्रस्तुत गर्नुपर्ने छ ।

Comments

comments

Share.
Loading...

Comments