सम्भावित भूकम्पको क्षतिलाई न्यूनीकरण गर्न इको प्यानलको प्रयोग गर्नुपर्छ : सिइओ दुवाल

0

भक्तपुरको थालाछेंमा वि.सं.२०३६ सालमा जन्मिएका कृष्णभक्त दुवाल पेशाले इन्जिनियर तथा एक कुशल व्यवसायी हुन् । बुबा गणेश दुवाल र आमा स्वर्गीय कृष्णमाया दुवालको कोखबाट जन्मिएका उनी अहिले गोर्खा इको प्यानल नामक कम्पनीका प्रमुख कार्यकारी अधिकृत छन् । नविकरणीय उर्जा इन्जिनियरिङ्ग क्षेत्रमा २०६४ सालमै मास्टर गरेका दुवाल इन्जिनियर हुन् । उनले २०७० सालमा एमवीए उत्तिर्ण गरेका छन् । नेपालमा भएका दक्ष जनशक्ति कामको अभावमा दिनानुदिन विदेश पलायन भइरहेको अबस्थामा उनले नेपालमै बसेर नेपालीलाई इन्जिनियरिङ सिकाइरहेका छन् र नेपालमै केही गर्नुपर्छ भन्ने सन्देश दिइरहेका छन् । इन्जिनियर अध्यापन पेसामा १० वर्ष काम गरेका दुवाल यतिबेला इको प्यानल उत्पादनमा लागि परेका छन् । भक्तपुरमा गोर्खा इको प्यानल स्थापना गरेर सामाजिक कार्यमा सक्रिय भैरहेका उनै दुवालसँग भक्तपुर न्यूज डटकमका लागि कमल न्यौपानेले गरेको कुराकानीको सार संक्षेप ।

भूकम्प पश्चात यो कम्पनी सुरुवात कसरी भयो ?
– भूकम्प पछि आम नेपालीले सुरक्षित र वातावरणमैत्री भवन निर्माणको चासोलाई लिएर हामीले यो कम्पनीको स्थापना गरेका हौं । यो भन्दा अगाडि पनि यो कम्पनीका बारे अध्ययन र अनुसन्धान गरिरहेका थियौ । सामग्रीमा हरित क्रान्ति भन्ने नारालाई आत्मसाथ गर्दै हाम्रो कम्पनी त्यसैलाई कार्यान्वयनका लागि क्रियाशील रहेको छ । हामीले सुरु गरेको गोरखा इको प्यानल नेपालमै एउटै मात्रै स्वदेशी इको प्यानल हो । कम्पनीले पूर्णवातावरणमैत्री इको प्यानल उत्पादन गर्दै आएको छ । इटाली, जापान, कोरिया, बहराइन, चीनलगायत विभिन्न देशमा पुगेर अध्ययन अनुसन्धानपछि मैले नेपालमै स्वदेशी कच्चा पदार्थको प्रयोग गरी पूर्ण वातावरणमैत्री इको प्यानल निर्माण सुरु गरेका हौं ।
अध्ययन गरेको क्षेत्र र पेशामा किन भिन्नता नि ?
– हाम्रो पारिवारिक व्यवसाय इँटा उत्पादन भए पनि मैले ऊर्जा क्षेत्रमा अध्ययन गरें । ऊर्जाको अध्यापन गर्दै गर्दा कम ऊर्जा खपत हुने र कमै मात्रै वातावरणीय प्रदूषण गर्ने निर्माण सामग्रीको खोजीमा लागेको थिएँ । यो क्रममा विभिन्न देशको अवलोकन भ्रमण पनि गरें । नेपालको माटो, हावापानी र भूगोल सुहाउँदो निर्माण सामग्रीको विकल्प इको प्यानल हो भन्ने ठहर गरें । यसपछि यो क्षेत्रमा प्रवेश गरेको हुँ ।

इको प्यानललाई आम नागरिकले कसरी बुझ्ने ?
– अहिले संसारभर निर्माण सामग्री उत्पादन गर्दा सकेसम्म कम प्राकृतिक स्रोत–साधनको उपयोग हुनुपर्छ भन्ने मान्यताको विकास भएको छ । यस हिसाबले नेपालमा पनि निर्माण सामग्री उत्पादनमा कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुनुपर्छ भन्ने मान्यता हाम्रो हो । यही कारण हामी कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुने र उत्पादनमा कम मात्रै ऊर्जा खपत हुने निर्माण सामग्रीको प्रयोग हुनुपर्छ भनेर लागेका हौं । यो क्रममा हामीले इको प्यानल पायौं । यही कारण हामी इको प्यानलको प्रयोगलाई बढावा दिनुपर्छ भनेर लागेका हौं । साथसाथै संसारभर भूकम्पको जोखिम कम गर्न कम ओजन भएको निर्माण सामग्रीको प्रयोग गर्नुपर्छ भन्ने मान्यता पनि स्थापित भएको छ । कम ओजन भएको निर्माण सामग्री भनेकै इको प्यानल हो । यस कारणले पनि हामीले सम्भावित भूकम्पको क्षतिलाई न्यूनीकरण गर्न इको प्यानलको प्रयोगलाई जोड दिँदै आएका छौं । यति मात्रै होइन, तीव्र विकास अहिलेको आवश्यकता हो । विकास निर्माणको कामलाई तीव्रता दिन छिटोभन्दा छिटो जडान गर्न सकिने निर्माण सामग्रीको आवश्यकता परेको छ । यस अर्थमा पनि इको प्यानल महत्वपूर्ण हुन्छ ।
तपाईंहरूले निर्माण सामग्रीमा हरित क्रान्ति भनेको के हो ?
– यो शताब्दीको मुख्य समस्या वातावरणीय समस्या हो । वातावरणमैत्री निर्माण सामग्री तथा कम मात्रै ऊर्जा खपत हुने निर्माण सामग्री आजको आवश्यकता हो । नेपालजस्तो ऊर्जाको दृष्टिकोणले असुरक्षित राष्ट्रका लागि त झन् कमै मात्रै ऊर्जा कम हुने निर्माण सामग्रीको उत्पादन र प्रयोग टड्कारो आवश्यकता हो । वातावरणीय प्रभाव र ऊजा खपतको हिसाबले इको प्यानल बढी नै प्रभावकारी भएकाले हामीले यो नारा दिएका हौं ।
गोरखा इको प्यानले केले बनेको हुन्छ ?
– गोरखा इको प्यानल भन्नाले कुनै पनि स्थायी तथा अस्थायी संरचना निर्माण गर्दा बाहिरी गाह्रो तथा भित्री पार्टेसन वालको रूपमा प्रयोग हुने टंग एन्ड ग्रुभ सहितको ज्वाइन्ट भएको हलुका निर्माण सामग्री हो । यसको प्रयोगले परम्परागत निर्माण सामग्रीको प्रयोग भन्दा ६ गुणा कम हलुका बनाइदिन्छ । गोरखा इको प्यानल ४÷५ मिलिमिटरको नन एस्वेस्टस क्लाल्सियम सिल्केट वोर्ड दुई साइडमा र भित्र सिमेन्ट, बालुवा, इपिएस चलनचल्तीको भाषामा थर्मोकोलको मिश्रणबाट बनेको हुन्छ ।
यसको आकार कस्तो हुन्छ ?
– यसको स्यान्डर्ड साइज ७ र ५ लम्वाई र २ फिट चौडाइको हुन्छ । मोटाइको हकमा ५० मिलिमिटर, ६० मिलिमिटर, ७५ मिलिमिटर, ९० मिलिमिटर, १ सय २० मिलिमिटर, १ सय ५० मिलिमिटर र १ सय ८० मिलिमिटर सम्मको हुन्छ । लम्बाइको हकमा ग्राहकको आवश्यकताअनुसार लामो पनि बनाउन सकिन्छ ।
यो कसरी जडान गरिन्छ ?
– यो जडान गर्न धेरै सजिलो छ । यसमा हुने टंग एन्ड ग्रुभमा विशेष प्रकारको एडिसिभ सिमेन्ट प्रयोग गरी जडान गरिन्छ । जोडाइलाई थप मजबुत बनाउन हरेक दुई वटा इको प्यानलको बीचमा ६ इन्चको किला प्रयोग गरिन्छ । हरेक पिलर र इको प्यानल तथा विम र इको प्यानलकोबीच विशेष प्रकारको केमिकल (जसलाई पियुफोम भनिन्छ) प्रयोग गरिन्छ । जसले पूरै वालको संरचनालाई एकढिक्का तथा मजबुत बनाइदिन्छ । के यसमा कन्सिल वायरिङ गर्न सकिन्छ ? भन्ने पनि आउन सक्छ । यसमा सजिलै कन्सिल वायरिङ गर्न सकिन्छ ।
के यसमा बाथरुमका टायल टाँस्न मिल्छ ?
– यसमा बाथरुमका टायललगायत स्यानटरीका फिक्सर सजिलै जडान गर्न सकिन्छ । यसमा सजिलै काठ, आल्मोनियम, युपिभिसीबाट बनेका झ्यालढोका प्रयोग गर्न सकिन्छ । इको प्यानलले चार घण्टासम्म एक हजार डिग्री तापक्रमको आगोलाई थेग्न सक्छ । यसमा प्रयोग हुने ननएस्वेस्टस क्याल्सियम सिल्केट वोर्ड, इपिएस, बालुवा सिमेन्टले स्वास्थ्यलाई कुनै पनि प्रकारको नकारात्मक असर गर्दैन ।
गोर्खा इकोलाई सरकारी सहयोग कस्तो प्राप्त भएको छ ?
– गोर्खा इको आफैमा स्थापित भएको कम्पनी हो । सरकारले अहिलेसम्म कुनैपनि खालको सहयोग गरेको छैन् । सहयोग त परै जाओस् स्थानिय उत्पादनको स्वदेशमै खपतका लागि समेत सरकार उदासिन छ । यस्ता कम्पनीको प्रोत्साहनका लागि सरकारी तवरबाट पनि सहयोग हुन जरुरी देखिएको छ ।
यसको प्रयोगले भित्र–बाहिरको आवाज सुनिन्छ कि सुनिँदैन ?
– यसमा प्रयोग हुने इपिएसले भित्रको आवाज बाहिर र बाहिरको आवाज भित्र आउन दिँदैन । यसको साउन्ड इन्स्योलेसन धेरै राम्रो छ ।  इपिएस (थर्मोकोल) को प्रयोगले यसमा राम्रो खालको थर्मल इन्सुलेसन प्रोपर्टी हुन्छ । यसले बाहिरी तातो तथा चिसोपनलाई सजिलै भित्र छिर्न दिँदैन । अतः कोठाको तापक्रमलाई विनाहिटर र एसी स्थिर बनाइराख्छ ।
अरू प्रिफ्याब प्यानल र यो इको प्यानलमा के फरक छ ?
– अरू प्रिफ्याब अस्थायी निर्माणका लागि उपयुक्त छन् । हामी स्थानीय संरचना निर्माणमा छौं । हाम्रो इको प्यानल स्थायी संरचना निर्माणका लागि हो । हामी ७० वर्षको वारेन्टी दिन्छौं
गोरखा इको प्यानल कहाँ–कहाँ प्रयोग भइसकेका छन् ?
– उत्पादन सुरु गरेको छोटो अवधिमै इको प्यानलले सफलता पाएको छ । अहिलेसम्म पूर्वको विराटनगरदेखि पश्चिमको धनगढीसम्म, गोर्खा, मनास्लुको विकट गाउँसम्म यो प्यानलका उपभोक्ता छन् । यसबाहेक ललितपुर बालकुमारीको वेस्टर टावर, कलंकीको नेसनल विजनेश टेड सेन्टर, बानेश्वरको श्रीकृष्ण टावर, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल, निर्वाचन आयोग, ख्वप कलेज लगायतमा गोरखा इको प्यानल जडान गरेका छौं ।
अन्त्यमा ……….. ?
– गोर्खा इको एक नेपाली कम्पनी भएकोले यसको सक्दो प्रयोग गर्न आम नागरिकलाई आग्रह गर्छु । यहाँबाट उत्पादीत सामानको स्वदेशमै खपत हुन सकेको अबस्थामा आम युवायुवतीलाई स्वदशेमै रोजगारीको व्यवस्था हुन सक्ने भएकोले सरकारी तथा गैरसरकारी निकायमा यसको प्रयोग गरिदिन अनुरोध छ । कम्पनीको प्रोत्साहनका लागि भएपनि सरकारले यस क्षेत्रमा लागि गरिदिए उत्पादन बृद्धि गर्नुका साथै अझै व्यवसायिक रुपमा अघि बढ्न सहज हुने थियो । यसतर्फ पनि सरकारको ध्यान जाओस् । एक चोटी सेवा गर्ने मौका दिनुहोस् र इको प्यानलका उत्पादित सामान प्रयोग गर्दिनु हुनेछ यहि अपेक्षा गर्दछु ।

Comments

comments

Share.
Loading...

Comments