काठमाडौं । चितवनको ईच्छाकामना गाउँपालिका-६ स्थित जलबिरे खोलामा डुबेर सोही गाउँपालिका-४ बस्ने २० वर्षीय अविषेक मगरको मृत्यु भएको छ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेका हुन्।
त्यस्तै, कैलालीको गोदावरी नगरपालिका-१२ शारदा बस्ती बस्ने भरत रावतका ८ वर्षीय छोरा आशिस रावतको बाँगेसालस्थित नहरमा नुहाउने क्रममा डुबेर बुधबार मृत्यु भएको छ।
बाराको कलैया उपमहानगरपालिका-१४ जितपुर टोल बस्ने किशोर पटेलका १० वर्षीय छोरा पवन कुमार पटेलको पनि बुधबार घर नजिकै रहेको टेंग्रहर खोलामा डुबेर मृत्यु भएको छ।
धनुषाको हंसपुर नगरपालिका-५ सुगानिकास बस्ने १७ वर्षीय श्रवण कुमार मंडलको निकाल खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार मृत्यु भएको छ।
साउन १८ गते दिउँसो पौडी खेल्ने क्रममा डुबेर असक्त भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार
Comments