भक्तपुर । भक्तपुर नगरपालिकाका ६९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । नगरपालिकाका जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ६९ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
भक्तपुरमै स्थानीयमा कोरोना देखिएपछि नगरपालिकाले कोरोना परीक्षण सुरु गरेको हो । भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेलका ४२ वर्षीय पुरुषमा कोरोना देखिएपछि नगरपालिकाले परीक्षण सुरु गरेको जनाएको छ ।
१४३ जनाको परीक्षण भएकोमा आज बिहानसम्ममा ७० जनाको रिपोर्ट आएको भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले जानकारी दिएका छन् ।
अन्यको रिपोर्ट भने आउने क्रम जारी छ । शुक्रबार नगरपालिकाकी एक महिला सदस्यको रिपोर्ट भने पोजेटिभ आएको थियो । संक्रमित महिलाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
ज्याख्वका अनुसार नगरपालिकामा ४६ जनप्रतिनिधि, १६० सफाइ कर्मचारी र ४१ स्वास्थ्य कर्मचारी रहेका छन् । उनीहरुको परीक्षण गर्न लगिएको हो । परीक्षण गर्न बाँकी रहेकाको परीक्षण गर्ने क्रम चलिरहेको उनले बताए ।
प्रकाशित मितिः २०७७ जेठ १२ सोमबार
Comments