भक्तपुर । कोरोना संक्रमित भक्तपुर नगरपालिकाको महिला सदस्यको सम्पर्कमा रहेका १९ जनाको स्वाब संकलन गरिएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहले शनिबार संक्रमित महिलाको परिवारका ३ सदस्यसहित प्रत्यक्ष सम्पर्कमा रहेका १९ जनाको स्वाबको नमुना संकलन गरेको हो ।
संकलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका केही बाँकी व्यक्तिहरुको पनि आज स्वाब परीक्षणको लागि पठाइने भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले जानकारी दिएका छन् ।
भक्तपुर नगरपालिकाले जनप्रतिनिधिहरुको कोरोना परीक्षण गराउने क्रममा मंगलबार ती महिलाको पनि परीक्षण गरेको थियो ।
वडा कार्यालयका अनुसार गत चैत ३० गते ती महिला राहत वितरण कार्यक्रममा सहभागी थिइन् भने वैशाखको पहिलो साता वडाका विभिन्न स्थानमा धानको बीउ वितरणमा सक्रिय थिइन् ।
कोरोना संक्रमित फेला परेपछि भक्तपुर–९ च्याम्हासिंह टुमुचो दुगुरे क्षेत्रमा प्रहरीले सिल गरेको छ । कोरोना संक्रमितलाई भने पाटन अस्पतालमा उपचारका लागि राखिएको छ ।
प्रकाशित मितिः २०७७ जेठ ११ आइतबार
Comments