काठमाडौं । जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच श्रमसमझदारी हुँदै छ । जापानले पहिलोपटक श्रम भिसामा सोझै नेपालबाट कामदार लैजान लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाँदैछ ।
समझदारीअनुसार दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार भर्ना हुनेछन् । तेस्रो पक्ष संलग्न हुँदा उच्च ठगी हुने भएकाले कोरियामाजस्तै सरकारीतवरबाट लैजान लागिएको हो । श्रम मन्त्रालयले स्थापना गर्ने वैदेशिक रोजगार विभागअन्तर्गतको शाखाले जापानी रोजगारदाताले माग गरेअनुसारका कामदार पठाउन सहजीकरण गर्नेछ । जापानले दक्ष र अदक्ष कामदार लैजानेछ । जापानले आवश्यकताअनुसार प्रत्येक वर्ष कामदार लैजाने जनाएको छ । ५ वर्षभित्र ३ लाख ४२ हजार दक्ष–अदक्ष विदेशी श्रमिकलाई रोजगारी दिने जापानी नीति छ । कुन–कुन देशबाट कति कामदार लैजाने भन्ने निर्णय जापानले बाहिर ल्याइसकेको छैन ।
यसअघि दक्षिण कोरिया र इजरायलमा सरकारी तवरबाटै कामदार पठाउने गरिएको छ । दक्षिण कोरिया सफल मोडल हो भने इजरायल असफल जस्तै छ । कामदार कम हुँदै गएपछि जापानले विदेशी कामदार ल्याउने नीति लिएको हो । उसले कृषि, उत्पादन र केयरगिभरका क्षेत्रमा रोजगारी दिने जनाएको छ । नेपालबाट भने केयरगिभरका क्षेत्रमा बढी कामदार लैजाने योजना छ ।
जापानी भाषा प्रवीणता परीक्षण जेएलपीटी को चौथो तह उत्तीर्ण गर्ने व्यत्ति जापानका लागि योग्य हुनेछन् । कामदारको लागत शुल्कलगायत भने तोक्न बाँकी नै छ ।
प्रकाशित मितिः२०७५ चैत ११ सोमबार
Comments