भक्तपुर, ११ असार । जिल्ला बाल कल्याण समिति भक्तपुरले आज जिल्लाका विभिन्न बाल सुधार गृहको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको निर्देशनमा बाल कल्याण समिति, जिल्ला बाल क्लव संजाल सम्बन्धित नगरपालिका, पूर्व बाल कल्याण समितिका अध्यक्ष कृष्णेश्वरी हाडा तथा प्रहरी परिसर भक्तपुर, र नेपाल पत्रकार महांसघ भक्तपुरको संयुक्त टोलीले अनुगमन गरेको हो ।
टोलीले भक्तपुर नगरपालिका भित्र संचालित व्यासी स्थित उन्नती होम र च्याम्हासिंह स्थित स्वर्ग बालगृह तथा मध्यपुर ठिमी नगरपालिकाको दुवाकोट स्थित टुहुरा बालबालिका केन्द्र र थानका बालसुधार गृहको अनुगमन गरेको हो । अनुगमन टोलीले बाल सुधार गृहमा रहेका बालबालिकाको अवस्था, बालबालिकाको व्यक्तिगत विवरण सम्वन्धि रेकर्ड, उनीहरुको रहनसहन तथा दैनिक क्रियाकलाप, पढाईको अवस्था तथा बालबालिकाको स्वास्थ्य उपचारको विषयमा जानकारी लिएको थियो ।
अनुगमनको विषयमा जानकारी दिदै महिला तथा बालबालिका कार्यालयका प्रमुख तथा जिल्ला बालकल्याण समितिका सदस्य सचिव निला घिमिरेले दुवाकोटमा संचालित दुवै बाल सुधार गृहमा सरसफाइको कमी रहेको पाइएको बताईन् ।
यस्तै, बाल सुधार गृह संचालन गर्न दातृ निकायले गरेको आर्थिक सहयोगको एमओयु पत्र भने देखाउन सकेन् । बाल सुधार गृहका संचालकहरुलाई एमओयु पत्र चाँडै पेश गर्न निर्देशन समेत दिएको छ । यी दुई बाहेकका भक्तपुर संचालित यी ४ वाल सुधार गृहका सवै जसो ठिक भएको देखिन आएको घिमिरे बताईन् । तर सुधार गृहका प्रायः सबै बालबालिका विद्यालय गएकाले बालबालिकाका प्रतिक्रियाको विषय भने प्रतिवेदनमा उल्लेख गरिएको छैन ।
भक्तपुर जिल्ला भरी जम्मा १९ वटा यस्ता बाल सुधार गृह रहेका छन् । ती गृहहरुमा तीन सय ४६ बालक तथा दुई सय ४८ बालिकाहरु गरि जम्मा ५ सय ९८ जना बालबालिकाहरु रहेको जिल्लाबाट कल्याण समितिले जनाएको छ ।
Comments