दाङ । प्यूठानमा खोलाले बगाएर बुधबार बिहान एक महिलाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । जिल्लाको माण्डवी गाउँपालिका–४ आपचौर बस्ने २८ वर्षीया देवीसरा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
देवीसराका दुई वर्षीय छोरा दिनेश र स्थानीय मधु अधिकारीकी ८ वर्षीया छोरी अनुस्का अधिकारी बेपत्ता भएको प्यूठान प्रहरीका प्रवक्ता देवीप्रसाद गैरेले जानकारी दिए । अस्पताल जाने क्रममा देवीसरालाई बिहान साढे आठ बजेतिर घर नजिकैको अरङखोलाले बगाएको थियो । उनको शव माण्डवी–२ ढिकावनमा फेला परेको प्रहरीले जनाएको छ ।
खोलामा बेपत्ता भएका अन्य दुई जनाको सुरक्षाकर्मी र स्थानीय मिलेर खोजी कार्य भैरहेको छ । सोमबारदेखि निरन्तर पानी परेकाले खोला र नदीहरुमा पानीको बहाब बढेको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक ०३ बुधबार
Comments