काठमाडौं । चीनबाट सरकारले खरिद गरेको आठ लाख डोज ‘भेरोसेल’ खोप आज शुक्रबार काठमाडौं आइ पुगेको छ । पाँचौ पटक नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज बेइजिङबाट खोप ल्याएसँगै ४० लाख खोप आइ पुगेको हो ।
शुक्रबार दिउँसो करिव दुई बजे खोप काठमाडौं आई पुगेको नेपाल वायुसेवा निगमका अपरेसन प्रमुख बरिष्ठ पाइलट दिपु ग्वार्चनले जानकारी दिए ।
निगमको जहाजले यसअघि चार कार्गो उडानबाट आठ लाख डोजका दरले ३२ लाख खोप ल्याइ सकेको उनले जानकारी दिएका छन् ।
सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्ष माथिका नागरिक र आवश्यकताका आधारमा वितरण शुरु गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
सरकारले आज शुक्रबारसम्ममा चीनबाट ४० लाख डोज खोप ल्याइ सकेको र खोप वितरण प्रकृया समेत ५० वर्ष भन्दा माथिका नागरिक र अत्यावश्यक पर्ने नागरिकलाई विहीबारदेखि लगाउन थालेको मन्त्रालयले जनाएको छ ।
जापान सरकारले पनि खोप उपलब्ध गराउने र कोभिसिल्ड अन्तर्गत खोप ल्याउने प्रकृया समेत अघि बढेकाले खोप पर्याप्त हुने मन्त्रालयको दावी छ ।
प्रकाशित मितिः २०७८ साउन १५ शुक्रबार
Comments