भक्तपुर। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि परीक्षा केन्द्र सिफारिस गर्न देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई सर्तसहित परिपत्र गरेको छ ।
पनिकाको सर्तअनुसार परीक्षा केन्द्र सम्भव भएसम्म अघिल्लो वर्षको तुलनामा नबढ्ने गरी सिफारिस गर्नुपर्नेछ । समन्वय इकाइले १२ चैतभित्र जिल्लाभर कायम हुने परीक्षा केन्द्र सिफारिस गरी पनिकामा पठाउनुपर्नेछ ।
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माका अनुसार परीक्षा सञ्चालनका लागि समन्वय इकाइले परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा राखिएको एक्सल फरम्याटअनुसार परीक्षा केन्द्र र सो केन्द्रअन्तर्गत रहने विद्यालयको नाम (कोड) समेत संलग्न राखी पठाउनुपर्नेछ ।
परीक्षार्थी संख्या बढ्न गई केन्द्र बढाउनुपर्ने अवस्था भए सम्बन्धित प्रदेश शिक्षा विकास निर्देशनालयसँग समन्वय गरी निकासमा पुग्नसमेत पनिकाले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।
पनिकाले प्राविधिक धार तथा ग्रेड वृद्धितर्फका परीक्षार्थीको परीक्षा केन्द्र जिल्ला सदरमुकाम वा जिल्लाका सबै विद्यार्थीलाई पायक पर्ने स्थानमा कायम गर्नसमेत समन्वय इकाइको ध्यानाकृष्ट गराएको छ ।
प्रयोगात्मक प्राप्तांक वेबसाइटमा राखिएको एक्सल फरम्याटमा विद्यालयलाई प्रविष्ट गर्न लगाई सफ्ट तथा हार्ड १-१ कपी परीक्षा नियन्त्रण कार्यालयमा पठाउनसमेत पनिकाले परिपत्र गरेको छ ।
प्रकाशित मितिः २०७७ फागुन २९ शनिबार
Comments