काठमाडौं । अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै आएको त्रिभुवन विश्वविद्यालयले अब विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा चलाउने भएको छ । त्यसकालागि अनुमति लिने देखि क्याम्पसहरु तयार बनाउने कामसम्म भएको त्रिविले जनाएको छ ।
त्रिवि मातहतका धेरै क्याम्पसबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सक्ने माग गरिएपछि आफूहरूले त्यसका लागि स्वीकृति दिएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले जानकारी दिए ।
अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेको गुनासो आएकाले संक्रमण अत्यन्त न्यून भएको स्थानमा भौतिक उपस्थितिमै कक्षा चलाउन अनुमति प्रदान गरिएको उनले बताए ।
भौतिक उपस्थितिमा कक्षा सञ्चालन नहुँदा लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट वञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको हो ।
खासगरी विश्वविद्यालय मातहतका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विद्यार्थी अनलाइनमा जोडिन नसकेका कारण भौतिक रूपमा कक्षा सञ्चालन गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको जनाइएको छ ।
विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीको अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्नसकेको छैन ।
संक्रमण फैलिएको स्थानमा भने अनलाइन कक्षालाई निरन्तरता दिने त्रिविले जनाएको छ । काठमाडौं उपत्यकासहित मुख्य सहरमा भने अझै अनलाइन कक्षाबाटै पठनपाठन गरिने शिक्षाध्यक्ष भुसालले बताए ।
२८ गतेदेखि परीक्षा :
यसैगरी त्रिविले यही मङ्सिर २८ गतेदेखि कोभिड–१९ को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने जनाएको छ । कोभिड–१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको हो । परीक्षा नियन्त्रण कार्यालय सहनियन्त्रक धनश्याम ठाकुरले पहिलो चरणमा स्नातक तहको परीक्षा गर्न थालिएको जानकारी दिए ।
उनका अनुसार यही मङ्सिर २८ गते विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन सङ्कायको चौथो वर्षका परीक्षा हुँदैछन् । उनले पहिलो चरणको परीक्षा सकाएपछि स्नातकोत्तर तहको माघ र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने बताए । त्रिविले यसपटक विद्यार्थीलाई आफूलाई पायक पर्ने ठाउँबाट पनि परीक्षा दिनसक्ने व्यवस्था मिलाएको छ । उनका अनुसार कम विद्यार्थी भएका सेमेष्टर तहका परीक्षा भने भइरहेका छन् ।
प्रकाशित मितिः २०७७ मंसिर १८ बिहिबार
Comments