काठमाडौं । इरानको संसद्ले युरेनियमको उत्पादन बढाउने तथा संयुक्त राष्ट्र सङ्घीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रमा अनुगमनमा रोक लगाउनेसम्बन्धी कानुन पारित गरेको छ ।
नयाँ कानुन पारित गरेसँगै इरानलाई युरेनियमको उत्पादन थप विस्तार गर्ने बाटो खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कानुनअनुसार अबको दुई महिनाभित्र आफूमाथि लगाइएका प्रतिबन्ध फुकुवा नभएमा युरेनियमको उत्पादन २० प्रतिशतसम्म विस्तार गर्न सकिने बीबीसीले जनाएको छ ।
सन् २०१५ मा भएको सम्झौता अनुसार इरानको युरेनियम क्षमता ३ दशमलव ६७ प्रतिशतमा सीमित हुनु पर्ने थियो । इरानका राष्ट्रपति हसन रुहानीले आफू यो कानुनको विपक्षमा रहेको बताउनु भएको छ । यो कानुनले कूटनीतिका लागि हानिकारक हुने उहाँको भनाइ छ ।
आफ्ना वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाख्रिजादेहको हत्यापछि इरानको संसदले नयाँ कानुन ल्याएको हो । इरानले परमाणु वैज्ञानिकको हत्यामा इजरायलको संलग्नता रहेको आरोप लगाउँदै आए पनि इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर परमाणु कार्यक्रमकै कारण इरानले पश्चिमी देशको कडा खाले प्रतिबन्धको सामना गरिरहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर १८ बिहिबार
Comments