काठमाडौं । कोरोना भाइरसको महामारीबाट बौरिँदै गएको युरोपमा जुलाईदेखि विदेशी पर्यटकलाई प्रवेश खुला गरिँदैछ। तर युरोपियन युनियन इयुले अमेरिकी यात्रुलाई युरोप प्रवेशमा रोक लगाउने तयारी गरेको खबर अमेरिकीसहितका विश्वका प्रमुख सञ्चारमाध्यममा प्रकाशित भएका छन् ।
इयुका अधिकारीहरुले जुलाईमा यात्रा खुला गर्दा भ्रमणका लागि स्वीकृति दिइने ‘सुरक्षित’ देशहरुको अन्तिम सूचि बनाइरहेका छन् । त्यसमा अमेरिका भने नपर्ने देखिएको विभिन्न स्रोतलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स र सिएनएनसहितका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अमेरिकासहित दक्षिण अमेरिकी देश ब्राजिल तथा रुसलाई पनि यात्राको स्वीकृति दिइने देशको सूचिमा समावेश नगर्ने इयुको तयारी रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
संक्रमणको दर निरन्तर बढिरहेका बेला अमेरिकी यात्रुलाई भ्रमणको स्वीकृति दिने सूचिमा राख्ने बारे छलफलको विषय पनि नरहेको छलफलबारे जानकार रहेका ६ कूटनीतिज्ञलाई उद्धृत गर्दै द वासिङ्गटन पोस्टले उल्लेख गरेको छ ।
यात्राको स्वीकृति पाउने देशको सूचिमा चीन पनि रहेको छ, तर त्यसका लागि युरोपेली यात्रुलाई पनि चीन भ्रमणको स्वीकृति दिइनु पर्ने शर्त रहेको द न्यूयोर्क टाइम्सले जनाएको छ । यसबारे अन्तिम निर्णय गर्न इयुका २७ देशका प्रतिनिधिको बैठक सोमबार पुनः बस्नेछ ।
कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख भन्दा बढी पुगेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कुल संक्रमितको संख्या २५ लाख सात हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये एक लाख २५ हजार भन्दा बढीको ज्यान गइसकेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार १४ आइतबार
Comments