काठमाडौं । साउदी अरेबियाका दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमण कहाँबाट भएको थियो भन्ने पत्ता लागेको अमेरिकाले दाबी गरेको छ ।
अमेरिकी अधिकारीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार इरानको दक्षिणी क्षेत्रबाट ड्रोट तथा क्रुज मिसाइल प्रहार भएको हो । खाडी क्षेत्रको उत्तर सीमा क्षेत्र नजिकैबाट इरानले साउदी अरेबियाको तेल प्रशोधन केन्द्रलाई लक्षित गरी ड्रोन तथा क्रुज मिसाइल आक्रमण गरेको अमेरिकी उच्च अधिकारीले दाबी गरेका छन् ।
यमनबाट हुन सक्ने आक्रमण रोक्नका लागि दक्षिण तर्फ सोझिएका कारण साउदी अरेबियाको हवाई सुरक्षा प्रणालीले इरान तर्फबाट प्रहार भएको ड्रोन र क्रुज मिसाइल रोक्न नसकेको अमेरिकी भनाई छ ।
यसअघि सोमबार सबेरै अमेरिकाले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता रहेको बताउँदै आफ्ना दाबी पुष्टि गर्ने प्रमाण भन्दै स्याटेलाइट तस्बिर सार्वजनिक गरेको थियो ।
स्याटेलाइट तस्बिर र गुप्तचर निकायबाट प्राप्त सूचना अनुसार साउदी अरेबियाका तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानको संलग्नता रहेको स्पष्ट हुने अमेरिकी दाबी थियो ।
इरानले भने शनिबार भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । सो आक्रमणको जिम्मा इरानको साथ पाएको यमनको हुथी बिद्रोहीले लिएको छ । तर ड्रोन आएको दिशा र त्यसका लागि लाग्ने खर्च हेर्दा यसमा हुथी बिद्रोहीको संलग्नतामा सन्देश रहेको अमेरिकी अधिकारीले बताउँदै आएका छन् ।
सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई ठूला प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको हो । त्यसपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ ।
दुई ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा झण्डै आधा कटौती गरेको हो । यसको अर्थ विश्व बजारमा आपूर्ति हुने पाँच प्रतिशत तेलमा कमी आयो ।
साउदीका उर्जा मन्त्री प्रिन्स अब्दुलाजिज बिन सलमानका अनुसार ड्रोन आक्रमण पश्चात तेल उत्पादन दिनको ५।७ मिलियन ब्यारेल कम भएको छ । यसको अर्थ साउदी अरेबियाले नियमित रुपमा उत्पादन गर्दै आएको तेलको मात्रामा आधा कटौती भएको हो । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज १ बुधबार
Comments