३१ जेठ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरिया अब परमाणु खतराको रूपमा नरहेको बताएका छन् । जुन १२ मा किमसँग भएको शिखरवार्तापछि उनले यस्तो घोषणा गरेका हुन् । मङ्गलवार भएको बैठकको उपलब्धीबारे कतिपय पूर्व अमेरिकी कूटनीतिज्ञहरूले आशंका व्यक्त गरेका छन् । तर, उनले यो उपलब्धिलाई शंकाले नहेर्न आग्रह गरेका छन् ।
कैयौं कूटनीतिज्ञ तथा राष्ट्रपति ट्रम्पका विपक्षी राजनीतिज्ञहरूले उक्त बैठकमा भएको सहमतिले उत्तर कोरियाको अस्त्रभण्डार कम गराउनेबारे आशंका व्यक्त गरेपछि ट्रम्पले उक्त प्रतिक्रिया दिएका हुन् । खासगरी उनले दक्षिण कोरियासँग हुने गरेको संयुक्त सैन्य अभ्यास तत्कालका लागि रद्द गरिदिएपछि पूर्वी एसियामा विविध आशंका पैदा भएका थिए । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ सोही विषयबारे छलफल गर्न हाल दक्षिण कोरियामा पुगेका छन् ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफ्ना सहयोगी देशहरूलाई उसको सुरक्षा प्रतिबद्धताहरूमा कुनै विचलन नआउने भनी आश्वस्त पार्ने प्रयास गरिरहेको छ । (एजेन्सी)
Comments