काठमाडौं । भारतीय सञ्चारमाध्यम जी न्यूजलाई प्रधानमन्त्रीले दिएको अन्तर्वार्तालाई प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाटकको संज्ञा दिएका छन् ।
बुधवार राजधानीमा आफू पक्षधर नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जी न्यूजलाई दिएको अन्तर्वार्ता नाटक भएको र त्यसको पटाक्षेप आज देखिएको टिप्पणी गरे ।
‘विदेशी शक्ति केन्द्रहरूले उहाँलाई के के मन्त्र सुनाए। उहाँले मन्त्र सुन्नु भयो। जी न्यूजको इन्टर्भ्यू तपाईंहरूले हेर्नुभयो नि, उहाँले बोलाएको त्यो पनि नाटक कै हो। नाटकै हो। त्यसको पटाक्षप आज भइसक्यो। अब सगरमाथाको नाम फेर्ने रे, त्यही जी न्यूजले। यो के नाटक देखिँदैछ तपाईं हामीले ?,’ प्रचण्डले प्रश्न गरे।
‘हामीले असारमा स्थायी कमिटीमा छलफल गर्दा मेरा साथीहरूले हटाउन खोजेका छन् भन्नु हुन्थ्यो। हामीले त्यतिबेला हटाएनौं। भारतले भन्दैमा हटाउने हो र भनेर हटाएनौं नि त त्यतिबेला,’ उनले भने, ‘अनि अहिले उहाँले पार्टी विभाजन गर्ने, संसद भंग गर्ने भारतले भनेर गर्या ? सारा जनताले देखे, बुझे। यसलाई के भन्नुहुन्छ केपीजी?’
उनले यसबारे प्रधानमन्त्रीसँग जवाफ पनि मागेका छन्।
‘मेरो प्रश्न यसबारे के भन्नु हुन्छ केपीजी ? तपाईं यसलाई के भन्नु हुन्छ? मैले भारतलाई केही भन्न खोजेको होइन फेरि यो भ्रम नहोस्।’
प्रधानमन्त्री ओलीले कस्ता मानिसलाई विशेष दूत भन्न खोजेको भन्ने बालुवाटारमा भएका गोप्य भेटघाटले पुष्टि गरिसकेको प्रचण्डको भनाइ थियो।
प्रकाशित मितिः २०७७ पौष २९ बुधबार
Comments