काठमाडौं । आज सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईले बताएका छन ।
आजको मन्त्रिपरिषद् बैठकले आइतबारदेखि रिक्त भएको नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ । प्राधिकरणका सीईओ कुलमान घिसिङको कार्यकाल आइतबारदेखि सकिएको हो ।
घिसिङलाई नै दोहोर्याउनुपर्ने माग भइरहेका बेला आजको बैठकले उनलाई पुनः नियुक्त गर्ने वा नगर्नेबारे टुंगो लागिसकेको छैन । आजको बैठकमा राष्ट्रिय सभा सदस्यमा रिक्त पदका लागि वामदेव गौतमको नाम सिफारिस गर्नसक्ने सम्भावना रहेको बताइन्छ ।
सत्तारुढ दल नेकपाको १८ भदौमा बसेको सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नै बैठकमा मन्त्रिपरिषद्ले गर्ने सिफारिसमा गौतमलाई पठाइने तयारी भएको जानकारी गराएका थिए ।
२० भदौमा बसेको मन्त्रिपरिषद् बैठकबाट भने उनको सिफारिस गरिएको थिएन । आजको बैठकले सरकारको प्रवक्तासमेत तोक्ने बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेको पनि कार्यकाल पुरा भएकाले त्यस विषयमा पनि मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताइएको छ ।
प्रकाशित मितिः २०७७ भदौ २९ सोमबार
Comments