काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएकाले त्यसलाई फिर्ता गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् ।
ओलीले संसदको बैठकमा आज जवाफ दिने क्रममा यस्तो दृढता व्यक्त गरेका हुन् । उनले भने, ‘अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, फिर्ता लिएरै छोड्छौं ।’ उनले अतिक्रमित भएका ती क्षेत्र समावेश गरेर सरकारले नयाँ नक्शा जारी गरेको जानकारी दिदैँ अब अतिक्रमित भूमि फिर्ता लिन तत्काल राजनीतिक र कुटनीतिक तहमा प्रभावकारी पहल गर्ने बताए ।
प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषदेबाट हिजो हामीले नयाँ नक्सा जारी गरेका छौं । २०१८ सालसम्म जनगणना गर्ने, तिरो उठाउने कामहरु भएका थिए । त्यसपछि तिरो उठाउन जान नदिनेजस्ता काम भयो । १९६२ मा कालापानीमा भारतीय सेना बसेपछि त्यभन्दा पश्चिमतर्फ जान बन्द गरियो । त्यसबेलाका शासकहरुले सहेर बसे । तर अब लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूभाग फिर्ता लिएर छाड्छौं । हामी छाड्नेवाला छैनौं । हामीले कोही रिसाउँछ कि भनेर कुनै कदम चालेका हैनौं ।’ ओलीले मन्त्रिपरिषद्ले स्वीकृत गरेअनुरूपको नेपालको नक्शा छिटै नै प्रकाशित गर्ने बताए ।
प्रकाशित मितिः २०७७ जेठ ६ मंगलबार
Comments