काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियताले सत्तारूढ दल नेकपाभित्रै समेत छटपटी बढेको छ । बालुवाटारको सांगीतिक साँझमा पूर्व माओवादीका नेताको शुन्य उपस्थिति यसको पछिल्लो दृष्टान्त बनेको छ । नेकपाका अध्यक्षलगायत पूर्व एमालेका वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनालसमेतको उपस्थिति रहेको उक्त कार्यक्रममा नेकपाकै कार्यकारी अध्यक्ष प्रचण्डलगायत अन्य पूर्व माओवादीका नेता उक्त कार्यक्रममा अनुपस्थित रहेका थिए । आफ्नो अनुपस्थितिलाई लिएर प्रचण्डले आफ्नो पूर्वनिर्धारित कार्यक्रका सिलसिलामा आफु पोखरा जानुपरेकाले कार्यक्रममा उपस्थित हुन नसकेको बताउँदै कार्यक्रममा आफू उपस्थित नभएर ठिकै गरेको सार्वजनिक प्रतिक्रियासमेत दिएका छन् ।
त्यसलगत्तै अख्तियारले ललितानिवास प्रकरणको मुद्दा विबेष अदालतमा दर्ता गराएको थियो । काँग्रेस उपसभापति विजय गच्छदारसहितका एक सय १० जनामाथि भ्रष्टाचारअन्तर्गत र ६५ जनाका हकमा निजहरुका नाममा दर्ता रहेको जग्गै जफत गर्ने विषयमा दर्ता गरिएको मुद्दालाई लिएर पूर्व माओवादी खेमामै तरंग पैदा भएको छ । अख्तियारको उक्त मुद्दाका विषयमा असन्तुष्टि जाहेर गर्दै प्रचण्डनिकट मानिएका सांसद प्रभु शाहले ‘सानालाई ऐन ठूलालाई चैन’ भनाइ ललितानिवास प्रकरणमा पुष्टि भएको टिप्पणी गरेका छन् ।
आइतवार आफ्नो फेसबुक स्टाटसमा नेकपा प्रदेश नम्बर २ का अध्यक्ष शाहले ललितानिवास जग्गा प्रकरणमा पूर्व प्रमद्वय माधव नेपाल तथा डा। बाबुराम भट्टराईलाई उन्मुक्ति दिने कार्य ठूला पदमा बस्नेलाई कानून नलाग्ने अवस्थाको पुष्टि गरेको प्रतिक्रिया जनाएका हुन् । उनले ‘कार्यकारी सर्वाधिकार प्रममा निहित रहेको प्रमय शासन प्रणालीमा सहि वा गलत जुनसुकै कार्यको जिम्मेवारी स्वयं प्रममा हुने कुरा स्पष्ट छ । तर ललितानिवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रम निर्दोष भन्ने अख्तियारको निर्णय हास्यास्पद छ । प्रस्तावकमात्र दोषी र निर्णयकर्ता निर्दोष, यो कहाँको न्याय हो ?’ भनी अख्तियारको उक्त कार्यप्रति प्रश्नसमेत उठाएका छन् । अख्तियारले बालुवाटार जग्गा प्रकरणमा संलग्न भनी विशेष अदालतमा मुद्दा दायर गरको घटना पछि सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीचको सम्बन्धमा तनाव उत्पन्न हुनु स्वाभाविकै देखिए पनि नजानिँदो ढंगले सत्तापक्षकै केही नेतासमेत विचलित अवस्थामा पुगेको संकेतसमेत देखा पर्न थालेको छ ।
प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार
Comments