काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीनपीङ र पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार साँझ भेटवार्ता भएको छ । देउवा र सीबीच सोल्टी होटलमा करिब २० मिनेट भेटवार्ता भएको हो ।
कांग्रेस लामो समयदेखि चिनियाँ कम्युनिष्ट पार्टीको सहकार्यमा अघि बढेको विषयमा सीसँग कुरा भएको देउवाले जानकारी दिए । देउवाले नेपालको सार्वभौमसत्ताको रक्षा र विकासका लागि चीनले गरेको दीर्घकालीन सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।
देउवाले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ बिआरआई प्रति आफ्नो समर्थन बताएका थिए । उनले नेपालमा चिनियाँ लगानीको अपेक्षा पनि प्रस्तुत गरेका थिए ।
भेटमा राष्ट्रपति सीले नेपाल र चीन धेरै पहिलादेखि नै मैत्रीपूर्ण छिमेकी, असल दाजुभाइ र साथी भएको र भविष्यमा स्थायी र मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने बताए ।
सीले नेपाली कांग्रेस पार्टी र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्धमा नेपाली कांग्रेसले सरकार चलाउँदा पुर्याएको योगदानलाई चिनियाँ जनताले कहिल्यै नबिर्सने पनि बताएका छन् । भेटमा उनले देउवालाई चीन भ्रमणको निम्तोसमेत दिएका छन् ।
प्रकाशित मितिः २०७६ असोज २६ आइतबार
Comments