काठमाडौं, ६ चैत । प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौंमा एकैपटक बोलाएका छन् । प्रदेश सरकारहरु काम गर्ने मेसो नपाएर अन्यौलग्रस्त भइरहेका बेला प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिवसहितलाई भोलि काठमाडौं बोलाएका हुन् ।
प्रदेश सरकारका मन्त्रीहरु समेत काम नभएको भन्दै काठमाडौंतिरै भौतारिरहेका छन् । मुख्यमन्त्री र मन्त्रीहरुले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन् भने कतिपय प्रदेशका मन्त्रीलाई दिने गाडीसमेत छैनन् ।
प्रदेश सरकारले बनाउनुपर्ने कानुनहरुको बारेमासमेत अन्यौल उत्पन्न भइरहेका बेला भोलिको बैठकमा प्रदेशका मुख्य न्यायाधिवक्ताहरुलाई पनि सहभागी गराउन लागिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । प्रधानमन्त्रीले प्रदेश सरकार सन्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासहरुको अवस्था लगायतका विषयमा जानकारी लिनेछन् ।
प्रदेशसभा र प्रदेश सरकार सन्चालनमा कर्मचारी अभावसमेत अर्को समस्या देखिएको छ । खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि बुधबारको बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल हुने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयले सातै प्रदेशका मुख्यमन्त्रीलाई बैठकमा सहभागी हुन हिजो पत्राचार गरिएको जानकारी दिएको छ । सरकार बनेपछि प्रधानमन्त्रीले पहिलो पटक सबै मुख्यमन्त्रीलाई बोलाएका हुन् ।
ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीलाई काठमाडौं बोलाए
0
Share.
Comments