काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा जान पाऊँ भन्दै रिट निवेदन दिएका सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवि भट्टको रिट निवेदनमा मंगलबार आदेश आउने संभावना छ।
पाण्डे र भट्टले दिएको रिट निवेदनमाथि सुनुवाई गर्दै आइतबार न्यायाधीश मीरा खड्काको एकल इजलासले मंगलबार (आज) अन्तरिम आदेशबाट निर्णय गर्न दुवै पक्षलाई बोलाएको छ। मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासमा पेशी तोकिएको छ।
सर्वोच्च स्रोतका अनुसार उक्त रिट पहिलो नम्बरमै परेकाले अन्तरिम आदेशको टुंगो लाग्ने संभावना छ। खड्को इजलासले अन्तरिम आदेशको टुंगो नलागेसम्म पाण्डे र भट्टलाई कारबाही नगर्न पनि अल्पकालीन आदेश दिएको थियो।
एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न निर्वाचन आयोगले भदौ ९ गते बोलाएको थियो। सुरुमा भदौ २ गते निवेदन दिँदा पाण्डे र भट्टको नाम उल्लेख नभए पनि भदौ ६ गते समाजवादीमा जानका लागि सनाखतमा भाग लिन पाउँ भनि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
तर आयोगले सुरुमा निवेदन दिँदा नाम उल्लेख नभएको भन्दै सनाखत गराउन अस्वीकार गरेको थियो। जसका कारण एकीकृत समाजवादीमा गए पनि उनीहरुको पद प्राविधिक हिसाबले एमालेमै रहे।
गएको बुधबार दुवै जनाले संयुक्त रुपमा सर्वोच्चमा एकीकृत समाजवादीमा जान खोज्दा पनि आयोगले रोकेको दाबी गर्दै त्यसका विरुद्ध रिट हालेका हुन्।
प्रकाशित मितिः २०७८ भदौ २९ मंगलबार
Comments