काठमाडौं । बलिउड चर्चित अभिनेत्री निम्मीको निधन भएको छ । बुधबार बेलुकी ८८ वर्षको उमेरमा उनको मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनको वास्तविक नाम नवाब बानो थियो । निम्मी नाम फिल्म निर्माता राज कपुरले राखिदिएका थिए । निम्मी सन् १९५० र ६० दशककी चर्चित बलिउड चर्चित अभिनेत्रीमध्ये एक थिइन् ।
‘आन’, ‘अमर’, ‘उडन खटोला’, ‘बरसात’ र ‘दीदार’ जस्ता चर्चित हिन्दी फिल्ममा काम गरिसकेकी निम्मीको दीर्घ रोगका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
निम्मीको परिवारले जनाएअनुसार उनलाई श्वासप्रश्वास सम्बन्धी समस्या थियो र जुहू अस्पतालमा भर्ना भएकी थिइन् ।
बिहीबार मुम्बईमा उनको दाहसंस्कार गरिएको हो । निम्मीले अभिनेता राज कपुर, दिलीप कुमार, देव आनन्द र अशोक कुमारसँग पनि काम गरेकी थिइन् । ‘लव एन्ड गड’ उनको अन्तिम फिल्म हो ।
लेखक तथा निर्देशक एस। अलीसँग बिहे गरेपछि उनले फिल्म खेल्न छाडेकी थिइन् । अलीको सन् २००७ मा निधन भइसकेको छ ।
प्रकाशित मितिः२०७६ चैत्र १४ शुक्रबार
Comments