काठमाडौं । यही चैत्र दोश्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘के घर के डेरा’ को छायांकन पोस्टपोन्ड भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले फिल्मका सम्पूर्ण गतिविधि रोक्न आह्वान गरेपछि सतर्कता अपनाउँदै अवस्था सामान्य नभएसम्मका लागि छायांकन रोकिएको निर्देशक सुब्रतराज आचार्यले जानकारी दिएका छन् ।
फिल्मका कार्यकारी निर्माता ताक्पा तामाङ (सिंगे लामा) ले स्वास्थ्य पहिलो प्राथमिकता भएका कारण छायांकन पछाडि सारेको बताए । ‘हाम्रो स्वास्थ्य पहिलो प्राथमिकता हो, हामी रहे फिल्म बनाउँदै गरौँला’, उनले बताए । फिल्म यूनिटले महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न बिशेष सतर्कता र सावधानी अपनाउन सम्पूर्ण नेपालीमा अपिल समेत गरेको छ ।
‘आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्दै हामीले फिल्म छायांकन सारेका हौँ’, निर्देशक आचार्यले बताए , ‘सम्पूर्ण दर्शक तथा आम नेपालीलाई सुरक्षित रहन अपिल गर्दछु’ । पैँतिस वर्षअघिको प्रदीप रिमाल निर्देशित फिल्म ‘के घर के डेरा’ नाम सापटी लिएर यो फिल्म बनाउन लागिएको हो । फिल्ममा भर्सटायल अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको अभिनय रहनेछ ।
यी दुई अभिनेताले यसअघि फिल्म ‘जात्रै जात्रा’ मा सँगै काम गरेका थिए । शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेत्री वर्षा राउतको पनि अभिनय रहनेछ । दयाहाङ र विपिनसँग उनले यसअघि ‘जात्रै जात्रा’ मा स्क्रिन साझेदार गरेकी थिइन् । फिल्ममा लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको पनि अभिनय रहनेछ ।
‘के घर के डेरा’ मा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्मातामा छन् । त्यस्तै, यम प्रसाद ओली सह-निर्मातामा रहेका छन् । ‘हरि’ फिल्मका निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहेको फिल्मको कन्सेप्ट निर्माता सिंगे लामाको हो । सिंगेले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘हरि’ फिल्म निर्माण गरिसकेका छन् ।
काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा निर्माण हुने फिल्मलाई दिर्घ वीर गुरुङले खिच्दैछन् । यस्तै, मित्र डि। गुरुङको सम्पादन रहने फिल्ममा शंकर थापा ‘स्माइल’ को संगीत तथा गायन, डिपी खनाल तथा सुब्रत राज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ । फिल्मलाई रोहित-रत्न (आरआर) ले वितरण गर्दैछन् ।
प्रकाशित मितिः २०७६ चैत्र ९ आइतबार
Comments