काठमाडौँ । युवा-युवतीहरुको फिल्म सम्बन्धि विभिन्न विधामा अध्ययन गर्ने चाहनालाई मध्यनजर गर्दै नेपाली फिल्मका बाघ निर्माताको रुपमा चिनिने छविराज ओझाको समुहले ४ वर्ष अगाडि काठमाडौंमा सञ्चालनमा ल्याएको ‘कान्तिपुर फिल्म एकेडेमी’ को पहिलो शाखा इटहरीमा खुलेको छ । बिहीवार एक कार्यक्रमका बीच इटहरी शाखाको बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले उद्घाटन गरे ।
एकेडेमीको इटहरी शाखाले फिल्म मेकिङ, भिडियो एडिटिङ, अभिनय र फोटोग्राफीको कोर्षमा अध्ययन गराउनेछ । फिल्म सम्बन्धि अध्ययन गर्न चाहनेहरुका लागि मध्यनजर गरेर इटहरीमा कान्तिपुर फिल्म एकेडेमीको शाखा सञ्चालनमा ल्याएको सीइओ प्रकाश पुरीले बताए । पहिलो चरणमा एक महिने कोर्षहरु तय भएको र त्यसका लागि आवेदन खुलिसकेको उनले जनाए ।
एकेडेमीका अध्यक्ष छविराज ओझाले पूर्वाञ्चलमा फिल्म मेकिङमा इच्छुकलाई काठमाडौंसम्म धाउनु पर्ने बाध्यता हटाउन इटहरीमै गुणस्तरीय फिल्म मेकिङको अध्ययन गराउन कान्तिपुर फिल्म एकेडेमीको शाखा खोलेको बताए । इटहरीको पूर्वलाइनस्थित इलाका प्रहरी कार्यालयको अपोजिटमा एकेडेमीको शाखा छ । काठमाडौंमा भने यसको केन्द्रिय भवन थापागाउँमा छ ।
एकेडेमीको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी हरिवंश आचार्यले मोफसलमा फिल्म अध्ययनको पहुँच पुर्याउन कान्तिपुर फिल्म एकेडेमीले गरेको यो प्रयासको प्रशंसा गरे । छोटो फिल्म, डकुमेन्ट्री, टेलिभिजन प्रोडक्सन तथा फोटोग्राफीमा इच्छुकका लागि एकेडेमीको इटहरी शाखाले सञ्चालन गर्न लागेको एक महिने कोर्षले ठूलो सघाउ पुर्याउने सीइओ पुरीले विश्वास व्यक्त गरे ।
प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार
Comments