काठमाडौँ । ‘गंगाजल’, ‘अपहरण’, ‘राजनीति’ जस्ता बलिउड फिल्मका निर्देशक प्रकाश झा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा सहभागी हुन नेपाल आइपुगेका छन् । बिहीबार राजधानीको राष्ट्रिय सभा गृहमा भएको फेस्टिभलको उद्घाटन कार्यक्रममा उनले फिल्म फेस्टिभल कलाको उत्सव भएको बताउँदै आफू नेपालमा विभिन्न देशका संस्कृति फिल्ममार्फत् हेर्न उत्सुक रहेको बताए ।
निफमा स्वदेशी तथा विदेशी फिल्मको फिचर विधाका मुख्य निर्णायकको जिम्मेवारी पाएका उनले फेस्टिभलमा उत्कृष्ट नेपाली फिल्म पनि हेर्न पाउने विश्वास व्यक्त गरे । ४० वर्षदेखि फिल्ममा काम गरिरहेको बताउँदै उनले हरेक दिन इन्जोय गरिरहेको बताए । ‘४० वर्षदेखि फिल्ममा काम गरिरहेको छु तर कुनै दिन यस्तो छैन, जहाँ मैले यो काममा इन्जोय नगरेको हुँ,’ झा सुनिए ।
उनले नेपाल आफ्नो दोस्रो घर रहेको पनि बताए । ‘म नेपालको बोर्डर बिहारमा जन्मिएको हुँ । मलाई नेपाल दोस्रो घर जस्तै लाग्छ । हाम्रा गाइवस्तु समेत चर्नलाई नेपाल जान्थे । यसरी नेपालसँगको नाता गहिरो भए पनि काठमाडौं आएको भने पहिलो पटक हो । फिल्म कारणले नेपाल आउन पाउँदा खुशी लागेको छ,’ झाले भने । उनी पहिलो पटक नेपाली फिल्म हेर्न निकै उत्सुक देखिए ।
सभामुख अग्नि सापकोटाले पानसमा बत्ति बालेर नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको उद्घाटन गरेका थिए । उनले कार्यक्रममा फेस्टिभल जीवन्त र सजिव अन्तरक्रिया हुने थलो भएको बताउँदै महोत्सवले गुणस्तीय फिल्म निर्माणमा नेपाली फिल्मकर्मीलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे । बिहीवारबाट सुरु भएको फेस्टिभल ५ दिनसम्म राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाममा चल्नेछ ।
फेस्टिभलमा सहभागी हुन ४० देशका फिल्मकर्मी नेपाल आइपुगेको निफका अध्यक्ष केपी पाठकले बताए । उनले महोत्सवको नयाँ संस्करणमा देखाइने फिल्म तथा छलफलले नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउन ठोस योगदान गर्न सक्ने धारणा राखे । निफ उद्घाटनको अवसरमा चाइनीज फिल्म कम्पोजरु देखाइएको थियो । शुक्रवार भने डिजिटल फिल्म सम्बन्धि वर्कसप हुँदैछ ।
प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार
Comments