काठमाडौं । भारतमा जारी हिरो महिला लिग फुटबलको फाइनल खेल आज (शुक्रबार) हुँदैछ ।
बैंगलोरमा हुने फाइनलमा नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी रहेको गोकुलम केरेला र क्रिप्सा एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो २:१५ मा सुरु हुनेछ ।
दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टिम पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछन् ।
सेमिफाइनलमा गोकुलमले साविक विजेता तथा नेपाली टिमका मिडफिल्डर अनिता बस्नेत रहेको सेथुलाई ३-० ले पराजित गरेको थियो । सेथु सावित्राको पूर्व क्लब समेत हो । गत सिजन सेथुले उपाधि जित्दा सावित्रा मुख्य खेलाडी रहेकी थिइन् ।
यस सिजन पनि सावित्रा गोकुलमको मुख्य खेलाडी हुन् । उनले यस सिजन १५ गोल गरेकी छिन् । सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा सावित्रा रहेकी छिन् ।
यस्तै पहिलो सेमिफाइनलमा क्रिप्साले केन्क्री एफसीलाई ३-१ ले हराएको थियो ।
प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार
Comments