काठमाडौं। नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सातौं दिनसम्म कूल २१६ स्वर्ण पदकको छिनोफानो भएको छ ।कुल ३१७ स्वर्णमध्ये २१६ स्वर्णको छिनोफानो हुँदा भारत ११० स्वर्ण पदकका साथ शीर्ष स्थानमा रहेको छ भने ४३ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।
सातौं दिनसम्म आइपुग्दा भारत पदक तालिकामा ११० स्वर्ण, ६९ रजत र ३५ कास्य गरी कुल २१४ पदकसहित शिर्ष स्थानमै यथावत छ । नेपालले ४३ स्वर्ण, ३४ रजत र ६५ कास्य गरी कुल पदक संख्या १४२ पुर्याएको छ ।
श्रीलंका ३१ स्वर्ण, ५७ रजत र ८३ कास्यका साथ कुल १७१ पदकका साथ तेस्रो स्थानमा छ । पाकिस्तान भने २४ स्वर्ण, ३० रजत र ३४ कास्यसहित ८८ पदकसहित तालिकाको चौथो स्थानमा छ ।
बंगलादेशले ७ स्वर्ण, २२ रजत र ५५ कास्यसहित ८४ पदकसहित पाँचौं स्थानमा छन् भने एक मात्र स्वर्ण जितेको माल्दिभ्सले दुई कास्यसहित तीन पदक लिएर छैठौं तथा छ कास्य जितेको भुटान तालिकाको पुछारमै छ ।
यस्तै इतिहासमै दोस्रो पटक सागको तालिकामा दोस्रो स्थानमा रहेको आयोजक राष्ट्र नेपालले ४३ स्वर्ण पदक जितेको छ । पहिलो संस्करणदेखि लगातार सागमा सहभागिता जनाएको नेपालले सर्वाधिक स्वर्ण १९९९ मा काठमाडौंमा भएको आठौं साग प्रतियोगितामा ३१ स्वर्ण जित्दै दोस्रो स्थान कव्जा गरको थियो ।
नेपालले शनिबार दुई स्वर्ण, छ रजत र १७ कास्य पदक जित्यो । नेपालले हालसम्म तेक्वान्दोमा १२ स्वर्ण जितेको छ । कराँतेतर्फ १० स्वर्ण हात पार्दा नेपालले साइक्लिङ्ग र उसुमा चार चार, पौडी र एथ्लेटिक्समा तीन तीन तथा गल्फ, बक्सिङ्गमा दुई दुई एवम् कुस्ती, ट्रायथोलन र डुवाथोलनमा एक एक स्वर्ण जितेको छ ।
प्रकाशित मितिः २०७६ मंसिर २२ आइतबार
Comments