काठमाडौं ४ साउन । रसिया विश्वकपको उत्कृष्ट गोलको मनोनयनमा क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी परेका छन्। यी दुवैको टिम विश्वकपको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएका थिए। तर, उनीहरूले गरेको गोल भने विश्कपको उत्कृष्ट गोलको मनोनयनमा पर्न सफल भएको हो।
फिफाले आफ्नो वेभसाइटमार्फत फुटबल समर्थकलाई विश्वकपको उत्कृष्ट गोल छान्ने अवसर प्रदान गरेको थियो। जसमा यी दुई स्टारको गोललाई धेरैले मत प्रदान गरेका छन्। यी बाहेक फ्रान्सका बेन्जामिन पाभार्ड र स्पेनका नाचो फर्नान्डेजको गोललाई पनि धेरैले रुचाएका छन्।
मेसीले समूह चरणको खेलमा नाइजेरियाविरूद्ध उत्कृष्ट गोल गरेका थिए। इभर बानेगाले मिडफिल्डबाट उपलब्ध गराएको लामो पासलाई मेसीले डिबक्सभित्र आफ्नो जाघले नियन्त्रणमा लिँदै गोल गरेका थिए।
यस्तै, क्रिस्टियानो रोनाल्डोले स्पेनविरूद्ध फ्रिकिकमार्फत गरेको गोललाई पनि धेरैले रुचाएका छन्। उनले समूह चरणको पहिलो खेलमै ह्याट्रिक गर्दा फ्रिकिकमार्फत त्यो गोल गरेका थिए। एजेन्सी
Comments