काठमाडौं । ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ । उसले मंगलबारको खेलमा ललितपुर मेयर ११ माथि १० विकेटको सानदार जित हात पारेको हो ।
ललितपुरले दिएको ६७ रनको सामान्य लक्ष्य एपिएफले ९.१ ओभरमा कुनै पनि विकेट नगुमाइ भेट्टायो । एपिएफका लागि अविजित रहेका ओपनर द्वय राजमति ऐरीले ३३ र इन्दु वर्माले २८ रनको योगदान दिए । राजमतिले ३१ बलमा ४ चौका र इन्दुले २४ बलमा ३ चौका प्रहार गरे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रनको सामान्य योगफल तयार पारेको थियो । ललितपुरका लागि कुनै पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । उसका लागि कञ्जन श्रेष्ठले सर्वाधिक १७ रनको योगदान दिइन् ।
सन्तोषी चौधरीले अविजित १३ र कप्तान सरस्वती चौधरीले १२ रनको योगदान दिनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपिएफका बिनु बुढामगरले ४, रेखा रावलले २, सीता राना मगर, सुष्मा विष्ट र करुणा भण्डारीले समान १–१ विकेट लिए ।
एपिएफले पहिलो खेलमा प्रदेश–१ लाई ८ विकेट र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गरेको थियो । पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ७ विकेटले पराजित भएको लतिलपुरले दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गरेको थियो ।
प्रकाशित मितिः २०७७ चैत्र २४ मंगलबार
Comments