काठमाडौं । कोरोना भाइरसका कारण २० दिनदेखि रसुवा भन्सार कार्यालय ठप्प छ । कोरोना भाइरस सर्न सक्ने आशंकाले यो नाका पूर्ण रूपमा बन्द गरिएको छ । नाका बन्द हुँदा चीनसँगको आयात निर्यात ठप्प रहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । यो नाका चिनियाँ अधिकारीहरूको आग्रहपछि सुरुमा बन्द गरिएको थियो ।
नेपाल सरकारले पनि कोरोना भाइरस सर्न सक्ने भएकाले पुनः बन्द कायम राख्न चिनियाँ अधिकारीलाई आग्रह गरिसकेको छ ।यो नाका स्वास्थ्य परीक्षणका लागि डाक्टर एवं पूर्वाधार नहुँदा पनि थप केही दिन बन्द रहने भएको छ । एक स्वास्थ्य सहायक मात्रै रहेकाले थप डाक्टरसहितको टिम पठाइदिन आग्रह गरिएको खड्काले बताए ।
आइतबारसम्म डाक्टरसहितको चार जनाको टिम आइपुग्ने जानकारी भन्सार विभागले दिएको उनले बताए । उनले नाका खुल्दा पर्यटकको आवागन हुने र स्वास्थ्य परीक्षणबिना पठाउन नसकिने हुँदा विज्ञसहितको स्वास्थ्य टोली आवश्यक परेको बताए ।
यो नाकाबाट दैनिक ४ करोड राजस्व संकलन हुँदै आएको थियो । २० दिनदेखि नाका ठप्प हुँदा करिब ८० करोड रुपैयाँ राजस्व प्रभावित भएको कार्यालयले जनाएको छ ।
प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार
Comments