काठमाडौं २७ साउन । उद्योगहरुमा आगामी ४ दिन साँझको समयमा लोडसेडिङ हुने भएको छ । भारतबाट आउने १ सय मेगावाट बिको प्रसारण अवरुद्ध हुने भएपछि उद्योगमा लोडसेडिङ हुने धेरै सम्भावना रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता विस्तारका क्रममा सोमबार विहान ९ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म बिजुली आयात नहुने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।
प्रसारणलाइमा प्राविधिक कामहरु गर्नु अवस्था आएपछि केही दिन बिजुलीको आयात रोक्न लागिएको हो । धनुषामा हालै २२० केभीको ढल्केबर सबस्टेशनको निर्माण सकिएको छ । त्यसैले हालसम्म १३२ केभीमा सञ्चालनमा रहेको यो प्रसारणलाइनलाई २२० केभी क्षमता स्तरोन्नति गर्न लागिएको छ ।
यो काम सकिएपछि भारतबाट अहिले आइरहेको भन्दा १५० मेगावाट बढी बिजुली आयात गर्न सकिन्छ । नेपालले भारतबाट अहिले ५ सय मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । बर्षायाममा यस्तो आयात दर घट्छ । भारतबाट ठूलो परिमाणमा बिजुली आयात केही दिन रोकिने भएपछि प्राधिकरणले आन्तरिक आयोजनाको व्यवस्थापन चुस्त बनाउन लागेको हो ।
Comments