काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढाएको छ । आज बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिङबाट एकै दिन दुई लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट एकै दिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।
यस्तै विद्युतीय वालेटमार्फत भुक्तानी र कारोबार गर्नेहरूको हकमा पनि कारोबार सीमा बढेको छ । तर एउटै व्यक्तिका नाममा रहेका फरक बैंकका खाता र राजस्व, जरिबाना, कर लगायतका विविध शुल्क भुक्तानी गर्नका लागि भने अधिकतम सीमाले बाधा पुर्याउने छैन ।
अब बैंकबाट वालेटमा प्रति–कारोबार ५० हजार, प्रति–दिन एक लाख र प्रति–महिना १० लाख रुपैयाँसम्म कारोबार सकिनेछ । यस्तै एक वालेटबाट अर्को वालेटमा प्रति–कारोबार २५ हजार, प्रति–दिन एक लाख र प्रति–महिना पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ । तर वालेटमा ५० हजार रुपैयाँभन्दा धेरै ओभरनाइट राख्न पाइने छैन ।
एटीएम र विद्युतीय भुक्तानीमा कति लाग्छ शुल्क ?
एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम दुई वटा कारोबारसम्म निःशुल्क गर्ने व्यवस्था मिलाउनुपर्नेछ । दुई वटाभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रति–कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन सक्नेछन् ।
यस्तै राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालन गर्न अनुमति पत्र प्राप्त संस्थाले डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतका मर्चेन्टबाट पीओएस र पीओटी मेशिनमार्फत गरिएको कारोबारमा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था मिलाउनुपर्नेछ ।
यस्तै वालेटको हकमा तीन हजार रुपैयाँसम्मको कारोबारमा प्रति–कारोबार पाँच रुपैयाँ, तीन हजार एक रुपैयाँदेखि १० हजार रुपैयाँसम्म १० र १० हजार एक रुपैयाँदेखि माथि २० रुपैयाँ शुल्क लिन पाइनेछ ।
यस्तै मोबाइल र इन्टरनेट बैंकिङ कारोबारमा ५० हजार रुपैयाँसम्म १० रुपैयाँ, ५० हजार एक रुपैयाँदेखि एक लाख रुपैयाँसम्मका लागि प्रति–कारोबार २० रुपैयाँ र एक लाखभन्दा माथिको कारोबारको हकमा सेवा प्रदायकले ३० रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् ।
प्रकाशित मितिः २०७८ भदौ २९ मंगलबार
Comments